वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

डिसी नेपाल
२१ कार्तिक २०८३ १७:४१

नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लाहरूमा प्रदूषण नियन्त्रणका कडा उपायहरू लागू गरेको छ।

वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (जीआरएपी) को तेस्रो चरणका उपायहरू कार्यान्वयन गर्ने निर्णय गरेको हो।

राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सीएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्वहरू वायुमण्डलमा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो। यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ।

आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्काल लागू हुने गरी जीआरएपीको तेस्रो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायहरूलाई यी उपायहरू कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।

तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ। यसमा उत्खनन्, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मतसम्भारका कामहरू समावेश छन्।

त्यसैगरी, दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लाहरूमा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बीएस अर्थात् भारत स्टेज सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको उत्सर्जन मापदण्ड हो।

स्वास्थ्य विज्ञहरूले स्थानीय बासिन्दाहरूलाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर गरिने गतिविधिहरू नगर्न तथा लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट जोगिन सुझाव दिएका छन्। श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई घरबाहिरका सबै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ।

दिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो। औद्योगिक गतिविधि, सवारीसाधनको चाप र व्यापक निर्माण कार्य यहाँको वायु प्रदूषणका प्रमुख कारण हुन्। विगतका वर्षहरूमा पनि जाडो मौसम सुरु हुनुअघि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुग्ने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *