ए डिभिजन लिग: मनाङद्वारा जावलाखेल पराजित

डिसी नेपाल
१९ मंसिर २०७५ ७:५२

काठमाडौं । शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएर मनाङले अपराजित यात्रा कायम राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गर्दै अन्जनले मनाङलाई ३ अंक दिलाएका हुन् ।

त्यसअघि पहिलो हाफमा मनाङले बल पोजिसनमा पकड जमाएपनि जावलाखेलविरुद्ध गोल गर्न सकेको थिएन । जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले उच्च प्रदर्शन गरेपछि मनाङ गोल गर्न असफल भएको हो । पहिलो हाफको छैटौं मिनेटमा मनाङका अन्जन बिष्टको प्रहार थापाले मुस्किलले बचाएका थिए ।

यस्तै खेलको १५ औं मिनेटमा कप्तान बिशाल राईले हानेको फ्रिकिक पोलमा लागेर फर्किएको थियो । खेलमा अन्जन म्यान अफ दि म्याच चुनिए । जितसंगै मनाङको ६ खेलबाट १८ अंक जोडेको छ ।

मनाङ लिगमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली हो । मनाङले दोस्रो स्थानको संकटाविरुद्ध ३ अंकले अग्रता बनाएको छ । पराजित जावलाखेल ४ अंक जोडेर ११ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *