आइपिएल लिलामी आजः चेन्नइले २ खेलाडी मात्र किन्न पाउने पंजाबलाई १५ किन्ने मौका

डिसी नेपाल
३ पुष २०७५ ६:०१

राजस्थान। संसारकै ठूलो बजेटको क्रिकेट लिग आइपिएलको लागि खेलाडीको लिलामी आज हुँदैछ । लिलामीका लागि ३४६ खेलाडी उपलब्ध छन् । यीमध्ये सबै ८ फ्रेन्चाइजीले गरेर बढीमा ७० खेलाडी मात्र किन्न सक्नेछन् । यी ७० खेलाडीमध्ये ५० खेलाडी भारतीय र २० खेलाडी विदेशी हुनुपर्नेछ । ८ फ्रेन्चाइजीमध्ये किंग्स ११ पंजाबले सबैभन्दा धेरै १५ खेलाडी किन्न पाउनेछ भने सबैभन्दा कम चेन्नइ सुपरकिंग्सले २ खेलाडी मात्र किन्न पाउनेछ । चेन्नइसँग २ खेलाडी किन्नको लागि ८.४ करोड रुपैयाँ छ । जबकि पंजाबले ३६.२० करोडमा १५ खेलाडी किन्नुपर्नेछ ।

लिलामीका लागि उपलब्ध खेलाडीलाई क्याप्ड र अनक्याप्ड गरी दुई समूहमा बाँडिएको छ । ११८ क्याप्ड खेलाडीहरुलाई पनि २ करोड, १.५ करोड, १ करोड, ७५ लाख र ५० लाख बेस मूल्यको समूहमा राखिएको छ । दुई करोड बेस मूल्य भएका ९ खेलाडी छन् र यो समूहमा सबै विदेशी खेलाडी मात्र छन् । १.५ करोड बेस मूल्य भएका १० खेलाडी छन् । अनक्याप्ड खेलाडीको संख्या २२८ छ । यी खेलाडीहरु ४० लाख, ३० लाख र २० लाख बेस मूल्यका छन् ।

विदेशी खेलाडीको हकमा सबैभन्दा बढी कोलकाता नाइटराइडर्सले ५ विदेशी खेलाडी किन्न पाउनेछ । एउटा फ्रेन्चाइजीले अधिकतम २५ खेलाडी किन्न पाउँछ । यसमा बढीमा १७ भारतीय र ८ विदेशी खेलाडी हुन सक्छन् । हरेक फ्रेन्चाइजीले खेलाडी किन्नको लागि अधिकतम ८० करोड रुपैयाँ खर्च गर्न पाउँछन् । यो ८० करोडमध्ये रिटेन गरिसकिएका खेलाडीको पारिश्रमिक घटाएर बाँकी रहेको बजेटबाट तोकिएको अधिकतम खेलाडी संख्यामा रिटेन गरिएका खेलाडीको संख्या घटाउँदा बाँकी हुने संख्यामा मात्र खेलाडी किन्न पाइन्छ ।

दुई वर्षको प्रतिबन्धपछि गत सिजन आइपिएलमा कमब्याक गरेको राजस्थान रोयल्स २०१८ मा प्लेअफसम्म पुगेको थियो । रोयल्सले ६ भारतीय र ३ विदेशी गरी ९ खेलाडी किन्न पाउँछ । राजस्थानसँग खर्च गर्न मिल्ने बजेट २०.९५ करोड छ । ट्रेडिङ विन्डोबाट शिखर धवनलाई भित्र्याएको दिल्ली क्यापिटल्सले भारतीय ७ र विदेशी ३ गरी १० खेलाडी किन्न सक्छ । दिल्लीसँग खर्च गर्न मिल्ने बजेट २५.५० करोड छ ।

किंग्स ११ पन्जाबले ११ भारतीय र ४ विदेशी गरी १५ खेलाडी किन्न पाउँछ । पंजाबसँग खर्च गर्न मिल्ने बजेट ३६.२० करोड छ । आइपिएलका सबैभन्दा सफल टिममध्येको एक मुम्बइ इण्डियन्सले भारतीय ६ र विदेशी १ गरी ७ खेलाडी किन्न पाउँछ । मुम्बइसँग खर्च गर्न मिल्ने बजेट ११.१५ करोड छ । अघिल्लो वर्ष युवा खेलाडीमाथि ठूलो लगानी गरेको कोलकाता नाइटराइडर्सले भारतीय ७ र विदेशी ५ गरी १२ खेलाडी किन्न पाउँछ । कोलकातासँग खर्च गर्न मिल्ने बजेट १५.२० करोड छ ।

सनराइजर्स हैदराबादले भारतीय ३ र विदेशी २ गरी ५ खेलाडी किन्न पाउँछ । हैदराबादसँग खर्च गर्न मिल्ने बजेट ९.७० करोड छ । चेन्नाइ सुपर किंग्ससँग २ भारतीय खेलाडी मात्र किन्ने ठाउँ छ । चेन्नाइसँग खर्च गर्न मिल्ने बजेट ८.४० करोड छ । भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरले यो सिजनमा भारतीय ८ र विदेशी २ गरी १० खेलाडी किन्न सक्छ । बैंगलोरसँग खर्च गर्न मिल्ने बजेट १८.१५ करोड छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *