सांसदले सोधे ‘निर्मलाको हत्यारा कसको दबाबमा लुकाइयो?’ आइजीपीले भने ‘निदाउन सक्दिन’

डिसी नेपाल
१५ साउन २०७६ १३:३१

काठमाडौं। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका बैठकमा अधिकांश सांसदहरुले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न नसक्नुमा कसको दबाब छ भनेर प्रश्न गरेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो कुराले आफू निदाउन समेत नसकेको बताएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा आइजीपी खनाल आमन्त्रित थिए ।

बैठकमा सबैजसो सांसदहरुले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न ढिलाइ भएकोप्रति लक्षित गर्दै कसको दबाबमा हत्यारा लुकाइएको हो प्रस्ट पारिदिन भनेका थिए । सांसदहरुले आइजीपीलाई समेत दबाब दिने र बाध्य पार्न सक्ने शक्ति के हो भनी प्रश्न गरेका थिए । जवाफमा आइजीपी खनालले आफूलाई कतैबाट दबाब नआएको बताए । उनले आफू न्याय दिलाउन प्रतिबद्ध रहेको जनाए ।

आइजीपी खनालले अहिलेसम्म नेपाल प्रहरी ९७.५ प्रतिशत अपराधका घटनामा अपराधी पत्ता लगाउन सफल रहेको बताए । उनले निर्मला पन्तको हत्या अनुसन्धानमा भएको ढिलाइले आफूलाई निकै तनाव दिने गरेको बताए । उनले यही तनाबका कारण आफू निदाउन सकेन नसकेको बताए ।

महानिरीक्षक खनालले निर्मला पन्तको विषयमा अनुसन्धान जारी गरेहेको भन्दै आफ्नो समथ्र्यले भ्याएसम्म प्रहरीले काम गरिरहेको बताए। उक्त घटनाका विषयमा आफूलाई कसैले पनि दवाब नदिएको उल्लेख गर्दै भने–यो विषयमा प्रहरीलाई कसैले पनि दवाब दिएको पनि छैन र प्रहरीले कसैको दबाव मान्दा पनि मान्दैन।’ उनले अनुसन्धाना सहयोग गर्न अपीलसमेत गरे।

समितिकी सदस्य सरिता प्रसाईँले दैनिक तीन वटा बलात्कारका घटना सार्वजनिक हुन थालेको भन्दै नेपाल प्रहरी असक्षम भएको त होइन भन्दै प्रश्न गरिन। उनले नेपाल प्रहरीको गौरवशाली इतिहास भएको उल्लेख गर्दै पछिल्लो समयमा हत्या, बलात्कार तथा अपहरणको घटनामा वृद्धि भइरहेपनि प्रहरीले सफलता हात पर्न नसकेको आरोप लगाइन्। उनले साँझ विहान एक्लै हिँड्नसमेत असुरक्षित महसुस हुन थालेको भन्दै शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन चुकेको आरोप लगाइन्।

समितिकी सदस्य विमला राई पौडेलले निर्मला पन्तको हत्याका विषयमा प्रमाण नष्ट गर्ने प्रहरीलाई बर्खास्त गरेर मात्र नहुने भन्दै उनीहरुलाई हिरासतमा राख्नुपर्ने बताइन। उनले वास्तविक अपराधी पत्ता नलागेसम्म प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई हिरासतमा लिनुपर्ने बताइन्।

समितिका सदस्य रमेशजंग रायमाझीले निर्मला पन्तको बलात्कारपछिको हत्यामा शक्तिशाली व्यक्तिको हात हुन सक्ने भन्दै शक्तिशाली व्यक्ति बचाउन महानिरीक्षकलाई प्रयोग गरिएको त होइन भन्दै प्रश्न गरे। ‘यो गम्भीर विषय हो। यो काण्डमा ठूलै व्यक्तिको संलग्नता भएको हुन सकछ,’ उनले भने, ‘शक्तिशाली व्यक्तिलाई बचाउन महानिरीक्षकलाई कसले प्रयोग गरिरहेको छ?’ नेपालमा पछिल्लो समय मुसलमानको हत्या धेरै हुन थालेको भन्दै प्रहरीको आलोचना गरे।

समितिका सदस्य कालिबहादुर मल्लले निर्मला काण्डमा प्रहरीको अनुसन्धान दाँ नभएको कुकुरले टोकेजस्तो भएको टिप्पणी गरे। ‘दाँत नभएको कुकुरले टोक्यो भने काउँकुती मात्रै लाग्छ,’ उनले भने, ‘अहिले प्रहरीको अनुसन्धान पनि त्यस्तै भयो।’

समितिकी सदस्य प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिन्। उनले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क गरिन्। उनले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अभिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको गम्भिर ध्यानाकर्षण गराइन्।

सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ किन नगरेको भनि प्रहरी महानिरीक्षक खनाललाई पटक–पटक प्रश्न गरिन्। उनले प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम रहेको दावी समेत गरिन्। गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अझै पक्राउ गर्न नसकेपछि त्यसको सर्वत्र आलोचना भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *