नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक

डिसी नेपाल
२८ साउन २०७६ १४:०८

काठमाडौं। बार्सिलोना र रियल मड्रिड दुवै ब्राजिलियन फरवार्ड नेइमारलाई अनुबन्ध गर्न प्रयासरत रहेका बेला लियोनेल मेस्सी यस विषयमा निर्णायक भूमिकामा पुगेका छन् । मेस्सी र नेइमारबीच आत्मीय सम्बन्ध छ । यी दुईसँगै लुइस सुआरेजसमेत विभिन्न समयमा रमाइलो गरिरहेका देखिन्छन् । पछिल्लो समय मेस्सीले नेइमारलाई रियलको प्रस्ताव अस्वीकार गर्न सुझाव दिएको स्पेनिस मिडिया मार्काले दावी गरेको छ ।

मेस्सी, सुआरेज र नेइमारले ड्रेसिङ रुम शेयर गर्ने समयमा बार्सिलोनाले धेरै ठूला उपलब्धीहरु हासिल गरेको थियो । मेस्सीको साथमा खेलेरै नेइमारले फुटबलमा धेरै नयाँ कुराहरु पनि सिक्दै गएका थिए । मेस्सीको कप्तानीमा खेलेका नेइमारले बार्सिलोनामा हुँदा जुन उपलब्धी हासिल गरेका थिए त्यो पिएसजीमा गएर हासिल गर्न सकेका छैनन् । २ वर्षअघि नेइमार जाने बेला मेस्सीले उनलाई रोक्न हरसम्भव प्रयास गरेका थिए । उनी गइसकेपछि पनि मेस्सीले नेइमार बार्सिलोना फर्कन पाउँदा खुसी हुने प्रतिक्रिया दिएका थिए ।

मेस्सी बार्सिलोनाका कप्तान मात्र होइनन् । उनको भूमिका त्यो भन्दा बढी छ । उनको राय र इच्छाले क्लवको निर्णयमा ठूलो हेरफेर गर्न सक्छ । यसको उदाहरण गत सिजनको अन्त्यमा मेस्सीले कोच अर्नेस्टो भालभर्देलाई गरेको बचाउ हो । धेरै फ्यानहरुले भालभर्देलाई हटाएर नयाँ कोच ल्याउन माग गरेका थिए तर मेस्सीले भालभर्देको बचाउ गरेपछि भालभर्दे क्लवमै रहे । अहिले पनि मेस्सी, नेइमार र सुआरेज फ्रन्टलाइनमा हुँदा क्लव कति बलियो हुन्छ भन्ने व्यवस्थापनले समेत बुझेकोले मेस्सीले आफ्नो इच्छा बताइराख्नु जरुरी छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *