भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ नेपाली नागरिकको विवरण सार्वजनिक गरेको छ।
सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका तथ्यांकका आधारमा यो सूची प्रकाशन गरिएको हो।
सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै रसुवाबाट १ हजार ५८३ जना बेपत्ता भएका छन्। यसबाहेक धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व र पश्चिम, उदयपुर, काभ्रेपलाञ्चोक, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक तथा सिन्धुली जिल्लाका बेपत्ता नागरिकहरूको सूची पनि समावेश छ।
प्राधिकरणले नेपाली नागरिकका साथै सात देशका १७१ जना विदेशी नागरिकको बेपत्ता सूचीसमेत सार्वजनिक गरेको छ। सूचीमा नाम समावेश भएका कोही व्यक्ति जीवित वा फेला परेको पाइएमा सम्बन्धित व्यक्ति वा एकाघरका परिवारका सदस्यलाई सूचना प्रकाशन भएको सात दिनभित्र आवश्यक दाबी पेस गर्न आग्रह गरिएको छ।
स्वदेशी नागरिकको यो विवरण सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा तयार पारिएको हो। विदेशी नागरिकको हकमा भने नेपालस्थित वा नेपाल हेर्ने सम्बन्धित मुलुकका कूटनीतिक नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणलाई आधार बनाइएको छ।
बाँकी जिल्लाहरूबाट बेपत्ताको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएपछि तथा विदेशी नागरिकको सम्बन्धमा नियोगहरूबाट थप सूची आएपछि त्यससम्बन्धी सूचना पनि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भइसकेको छ भने बाढीमा कुल ५ हजार २८५ जना बेपत्ता भएको प्राधिकरणको तथ्याङ्क छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment