भारत–पाकिस्तान सीमामा गोली हानाहान, एकजना भारतीय सैनिक मारिए

डिसी नेपाल
३२ साउन २०७६ १६:२७

नयाँ दिल्ली (एजेन्सी) । भारत र पाकिस्तानबीच कश्मीर मामिलालाई लिएर कुटनीतिक रुपमा तनाव बढिरहेका बेला सीमा क्षेत्रमा पनि तनाव देखिएको छ । कश्मीरलाई विभाजन गर्ने काल्पानिक सीमा क्षेत्र लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानी सेनाबीच गोली चलेका घटनाहरु लगातार आइरहेका छन् ।

जम्मू कश्मीरको नैशेरा क्षेत्रमा शनिबार दुई देशका सेनाबीच भारीमात्रामा गोलाबारी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो क्रममा एकजना भारतीय सैनिकको मृत्यु भएको भारतीय सेनाको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी सेनाले एलओसीमा मोर्टार आक्रमण गरेको थियो । सो क्रममा भारतीय सैनिक मारिएका हुन् ।

भारततर्फबाट पनि भारतीय सेनाले पाकिस्तानी सेनामाथि आक्रमण गरेको जनाइएको छ । दुबैतर्फबाट मोर्टार आक्रमण भएको जनाइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाको पोस्टमा आक्रमण गरेको छ । कारगिल युद्धपछि भारत र पाकिस्तानबीच युद्धविराम भएको भएपनि सीमा क्षेत्रमा बेला बेलामा यस्ता आक्रमणहरु हुने गरेका छन् ।

केही दिनअघि पनि पुँछ क्षेत्रमा भारतीय सेना र पाकिस्तानी सेनाबीच गोलीबारी भएको थियो । सो क्रममा तीनजना पाकिस्तानी सैनिक मारिएका थिए भने ५ जना भारतीय सैनिक मारिएको पाकिस्तानले दावी गरेको थियो । यद्यपी भारतले आफ्ना सुरक्षाकर्मी मारिएको भने अस्वीकार गरेको थियो । भारतले सीमा क्षेत्रमा आफ्ना सेनाको हताहतिबारे शनिबार स्वीकार गरेको हो।

पाकिस्तानी सञ्चार माध्यमहरुले भने शनिबार भएको सीमा क्षेत्रको तनावबारे केही उल्लेख गरेका छैनन् । भारतले युद्धविरामको उल्लंघन गरेको पाकिस्तानमाथि लगातार आरोपहरु लगाइरहेको छ । यद्यपी यस्तो उल्लंघन दुबैतर्फबाट हुने गरेको छ ।

भारत र पाकिस्तानबीच हालै भारतले धारा ३७० खारेज गरेपछि विवाद उत्कर्षमा छ । जम्मू कश्मीरको विशेषाधिकार खारेज गर्ने भारतको सो निर्णयको पाकिस्तानले विरोध गर्दै आएको छ । यो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको हो । गएको फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आक्रमणमा ४४ जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुईदेशबीच युद्धकै जस्तो अवस्था बनेको थियो ।

भारतले सोही घटनाको बदला भन्दै फेब्रुअरी २६ मा पाकिस्तानको बालाकोटमा हवाईआक्रमण गरेको थियो । पाकिस्तानले पनि २७ फेब्रुअरीमा हवाई आक्रमण गरेको थियो । यहीक्रममा पाकिस्तानले भारतको एक लडाकु विमान खसालिदिएको थियो भने त्यसका चालक अभिनन्दन बर्धमानलाई कब्जामा लिएको थियो । यद्यपी त्यसको दुई दिनपछि उनलाई पाकिस्तानले मुक्त गरिदिएको थियो । सो घटनापछि दुईदेशबीच युद्धकै अवस्था बनेपछि अन्तर्राष्ट्रिय समूदायको हस्तक्षेपपछि युद्धको सम्भावना टरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *