भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार सुरु

डिसी नेपाल
१ भदौ २०७६ ८:३०

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ। आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार राखिएका छन्।

पश्चिमी नाकामा गडडाचौकीमा पर्यटकलाई हार्दिक स्वागतसहितको ठूलो प्रचार सामग्रीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको झोलुङ्गे पुल, रौटेला, विष्णु मन्दिर धाम, झिलमिलालगायतका पर्यटकीयस्थलमा प्रचार सामग्री राखिएका छन्। पर्यटकलाई पर्यटकीयस्थलबारे सहजरूपमा जानकारी गराउन र गन्तव्यमा सहजरूपमा पुग्नका लागि प्रचार सामग्री राखेका छौँ, नगरप्रमुख सुरेन्द्रबहादुर विष्टले भने, “ती प्रचार सामग्रीमा पर्यटकीयस्थलको नाम, विशेषतालगायतका जानकारी दिएका छौँ।”

नेपाल भ्रमण वर्षको प्रचार–प्रसार र पूर्वाधार निर्माणकार्य अगाडि बढाइएपछि पर्यटक बढ्ने अपेक्षा गरिएको उनले हामीलाई बताए । नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन २०१९ लाई पर्यटन र पूर्वाधार वर्षका रुपमा मनाउने घोषणा गरेको छ। नेपाल भ्रमण वर्ष सफल बनाउन गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

एक सातासम्म सञ्चालन गरिएको महोत्सवमा दुई हजार पर्यटकले शुक्लाफाँटा निकुञ्ज भ्रमण गरेका थिए। यो सङ्ख्या निकुञ्जकै इतिहासमा अहिलेसम्मकै ठूलो हो। बाह्रसिङ्गको झुण्डले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटनका क्षेत्रमा खुला विश्वविद्यालयका रुपमा विकास गर्न सकिन्छ।

निकुञ्जको प्रचार–प्रसारका लागि भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकसमेत निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा बसेको थियो। भीमदत्त नगरपालिकाले झोलुङ्गे पुलदेखि बागफाँटासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटनमार्ग निर्माणकार्य शुरु गरिएको छ। यो मार्ग निर्माण भएपछि किनारका पर्यटकहरुले झोलुङ्गे पुल, हात्तीसार, गोहीको अवलोकन गर्न सक्नेछन्।

भीमदत्त नगरपालिका–९ मा पर्ने झिलमिला तालसम्म जान पक्की सडक निर्माण गरिएको छ। पर्यटकहरुले ताराकोटसम्म गाडीमा त्यहाँबाट झण्डै एक किलोमिटर टाढा तालसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ। ताराकोटमा पिकनिक स्पट बनाउने नगरपालिकाको योजना छ । ब्रह्मदेवदेखि झिलमिलासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ।

नगरपालिकाका उत्तरी क्षेत्रका धार्मिक पर्यटकीयस्थललाई एकापसमा जोड्न धार्मिक पर्यटनमार्ग निर्माण गरिएको छ। रौटेलादेखि ब्रह्मेदवसम्म निर्माण गरिएको २२ मिटर चौडा सडकबाट रौटेला, विष्णु मन्दिर धाम, भम्केनी, ब्रह्मदेवको सिद्धनाथ मन्दिरलाई एकापसमा जोडिएका छन्।

नगरपालिकाको वडा नं १ बाराकुण्डाका सबै १२ कुण्डलाई पुनःभरण गरी पर्यटकीय गन्तव्य बनाइएको छ । भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्तिका लागि नगरपालिकाले रु एक करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ। नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी झोलुङ्गे पुल सौन्र्दयीकरणका लागि सौर्यबत्ती जडान गरिएको छ। भीमदत्त नगरपालिका वडा नं १४ स्थित राना–थारू घरबासमा सङ्ग्राहलय बनाउन सहयोग गरिएको छ।

झोलुङ्गे पुल नजिक उद्यान निर्माणकार्य अघि बढेको छ । झिलमिलातालको गुरुयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छ । चुरे क्षेत्रमा पर्ने कालिताल झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बाटो निर्माण गरिएको छ । ब्रह्मदेवको खल्लास्थित ५२ ढोकालाई संरक्षणका लागि तारबार गरिएको छ। रासस




प्रतिक्रिया

One thought on “भ्रमण वर्ष सफल पार्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार सुरु

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *