हङ्‌कङ आन्दोलनबारे चीनले सामाजिक सञ्जालमा भ्रम फैलाएको ट्विटर र फेसबुकको दाबी

डिसी नेपाल
३ भदौ २०७६ १०:५२

बीबीसी । चीनले सामाजिक सञ्जालबाट हङ्‌कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चालेको पत्ता लागेपछि नियन्त्रणका लागि उपयुक्त कदम चालिएको ट्विटर र फेसबुकले बताएका छन्।

ट्विटरले हङ्‌कङमा राजनीतिक द्वन्द्व सिर्जना गर्न खोज्ने नौ सय ३६ खाताहरू हटाइएको बताएको छ। मुख्यभूमि चीनबाट सञ्चालित ती खाताहरू सङ्गठित रूपबाट हङ्‌कङको राजनीतिक अवस्था र त्यसको वैधतालाई कमजोर पार्ने उद्देश्यबाट सञ्चालित भएको उक्त सामाजिक सञ्जालले जनाएको छ।

फेसबुकले पनि सातवटा फेसबुक पेज, तीनवटा ग्रूप र पाँचवटा खाता हटाइएको जनाएको छ। ‘त्यहाँ बारम्बार स्थानीय राजनीतिक समाचार र खासगरी चलिरहेको हङ्‌कङको प्रदर्शनबारे लेखिन्थ्यो,’ फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नथानियल ग्लेचर भन्छन्।

‘त्यस्तो काम गर्ने मानिसहरूले आफ्नो पहिचान लुकाउन खोजेपनि हाम्रो अनुसन्धानले ती चीन सरकारसँग सम्बन्धित रहेको देखाएको छ।’ नौ सय ३६ ट्विटर खाताबाहेक अन्य दुई लाखजति खाता अफवाह फैलाउने उद्देश्यले खोलिएको भए पनि तिनलाई प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको बताइएको छ।

ट्विटरले आफ्नो एउटा विज्ञप्तिमा भनेको छ, ‘हाम्रो विस्तृत अनुसन्धानपछि सङ्गठित रूपमा (चीन) सरकार समर्थित काम रहेको देखिने बलिया प्रमाणहरू भेटिएका छन्।’ ती खाताहरूमा हङ्‌कङ आन्दोलनबारे उस्तै शैलीमा सन्देश एवं विचारहरू देखापर्थे।

गत सप्ताहान्तमा चीनको सरकारी समाचार संस्था सिन्ह्वाले ट्विटरमा प्रायोजित पोस्टहरू गरेपछि ट्विटरको निकै आलोचना भएको थियो। ट्विटरले अबआइन्दा राज्यनियन्त्रित कम्पनीबाट विज्ञापन नलिने घोषणा गरेको छ।

तर उसले आफ्ना नयाँ नीति स्वतन्त्र–सार्वजनिक प्रसारकहरूका हकमा लागु नहुने बताएको छ। मुख्यभूमि चीनमा ट्विटर पहिल्यै प्रतिबन्धित भए पनि मानिसहरूले भीपीएन भनिने भिन्न इन्टरनेट मार्गको प्रयोग गर्दै त्यसलाई प्रयोग गर्छन्।

केही समयअघि प्रस्तुत एउटा विधेयकमा मुख्यभूमि चीन, ताइवान र मकाउबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ्‌कङ अदालतले प्रत्येक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था राखिएको थियो।

ताइवानमा बिदा मनाउन गएका बेला हङ्‌कङका एक व्यक्तिले आफ्नी प्रेमिकाको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो। तर ठूलो विरोध भएपछि सो विधेयक फिर्ता भयो।

चीन सरकारले राजनीतिक विपक्षीहरूलाई तारो बनाउन सो विधेयकका आधारमा बन्ने कानुनको दुरुपयोग हुने त्रासका कारण हङ्‌कङमा त्यसको विरोध भएको थियो। त्यस बेलादेखि नै हङ्‌कङ आन्दोलित छ।

त्यस क्रममै गत साता त्यहाँ विमानस्थल नै बन्द हुनेगरी ठूला प्रदर्शनहरू भएका थिए। चीन सरकारले त्यसमा विदेशी हात रहेको भन्दै हस्तक्षेप गर्ने बताउँदै आएको छ। चीनले प्रदर्शनकारीहरूमाथि आतङ्ककारीजस्तो व्यवहार गरेको आरोप लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *