यी हुन् आफ्नै श्रीमती र छोराको शरीरमा तारपिनको तेल छर्की आगो लगाउने व्यक्ति

डिसी नेपाल
४ भदौ २०७६ १९:२४

धादिङ । धादिङमा आफ्नै श्रीमती र छोराको शरीरमा तारपिनको तेल छर्की आगो लगाउने श्रीमानलाई धादिङ प्रहरीले सार्वजनिक गरेको छ।

सोमबार धादिङ सिद्धलेख गाउँपालिका १ धारापानीका गणेश लम्सालले आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरा जेनिस लम्सालको शरीरमा तारविनको तेल छर्की आगो लगाएका थिए।

घरायसी विवाद हुँदा श्रीमती र छोरालाई सुतिरहेको अवस्थामा तारपिनको तेल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रवक्ता खड्काका अनुसार आगो लगाएर घाइते भएकी श्रीमतीको अनुहार‚ बायाँ हात र छोराको कोखा, टाउको‚ हातको भाग जली जलेको छ। उनीहरुलाई जिल्ला अस्पताल धादिङवेशीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रिफर गरिएको प्रवक्ता खड्काले बताए।

घटनामा संलग्न गणेश लम्साललाई नियन्त्रणमा लिई ज्यान मार्ने उधोग अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासत कक्षमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

One thought on “यी हुन् आफ्नै श्रीमती र छोराको शरीरमा तारपिनको तेल छर्की आगो लगाउने व्यक्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *