ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति

डिसी नेपाल
५ भदौ २०७६ ११:०१

काठमाडौं। दुई अध्यक्षात्मक व्यवस्थाको अभ्यास गरेको सत्तारुढ दल नेकपाले तत्कालीन एमाले र माओवादीबीच एकता भएको १५ महिनापछि प्रचण्डलाई ‘कार्यवहाक’ जिम्मा दिएको छ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको अनुपस्थितिमा प्रचण्डलाई सचिवालय बैठकको अध्यक्षता गर्ने अधिकार दिएको हो। यसअघि ओलीको अनुपस्थितिमा सचिवालय बैठक बस्ने गरेको थिएन।

बामदेव गौतमलाई उपाध्यक्ष, बनाउने, ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउने र झलनाथ खनाललाई तेस्रो वरियातामा राख्ने ओलीको प्रस्तावलाई सहयोग गरेका प्रचण्डलाई ओलीले एकता भएको १५ महिनापछि आफ्नो अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता गर्ने जिम्मा दिएका हुन्।

बैठकले प्रचण्डको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ। बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी ओली आजै स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदैछन्।  बैठकले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिङ्गापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लागेको बताए। प्रधानमन्त्री ओली ७/१० दिन त्यहाँ रहने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिए।

नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यििवभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *