आर्चरको घातक बलिङ अगाडि अस्ट्रेलिया निरिह

डिसी नेपाल
६ भदौ २०७६ ९:५४

एजेन्सी । एशेज सिरिज अन्तर्गतको तेश्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया ५२–१ ओभरमा १७९ रन बनाउँदै अलआउट भएको छ। जोफ्रा आर्चरले ४५ रन दिदैं ६ विकेट लिएर घातक बलिङ गरेपछि अस्ट्रेलिया १७९ रनमा समेटिएको हो।

अस्ट्रेलिया अलआउट भएसँगै पहिलो दिनको खेल समाप्त भएको छ, र आज दोस्रो दिन घरेलु टोली इंग्ल्याण्डले ब्याटिङको सुरुवात गर्नेछ। इङ्ल्याण्डले टस जितेर बलिड गर्ने निर्णयपछि ब्याटिङमा आएको अस्ट्रेलियाको सुरूवात खराब रह्‍यो।

टोलीले मात्र २५ रन जोड्दा २ विकेट गुमाएको थियो। मार्कस हैरिस र उस्मान ख्वाजा दुवै जना समान ८–८ रन बनाएर पवेलियन फर्किएका थिए। त्यसपछि डेविड वार्नर र मार्नस लाबुशानेले क्रमशः ६१ र ७४ रन बनाउँदै तेश्रो विकेटका लागि १११ रनको शतकीय साझेदारी गर्दै अस्ट्रेलियालई संकटबाट बाहिर ल्याए।

यसक्रममा वार्नरले आफ्नो करियरको ३० औं अर्धशतक बनाए। उनले ९४ बलमा सात चौका प्रहार गरेका थिए। अस्ट्रेलियाले १३६ रन बनाउँदा वार्नर जोफ्रा आर्चरको बलमा विकेट किपर बेयरस्टोको हातबाट क्याच भए।

वार्नरको विकेटसँगै अस्ट्रेलियाको विकेट लगातार जान थाल्यो र टोली पुनः संकटतीरै पुग्यो। ट्रेविस हेड र म्याथ्यु वेड खाता नखोली नै पेभेलियन फर्किए।वेड आउट भएपछि अस्ट्रेलियाको विकेट नियमित अन्तरालमा एकपछि अर्को गर्दै पतन हुँदै गयो र टोली १७९ मा अलआउट भयो।

यसक्रममा लाबुशानेले १२९ बलमा १० चौका प्रहार गरे। उनले आफ्नो करियरको तेश्रो अर्धशतक पूरा गरे। इङ्ल्याण्डका लागि आर्चरका अलावा स्टुअर्ट ब्राडले दुई र क्रिस वोक्स तथा बेन स्टोक्सले १-१ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *