मलेसियन क्लबविरुद्धको खेलमा नेपालको कप्तानी सुजलले गर्ने

डिसी नेपाल
६ भदौ २०७६ २०:०२

काठमाडौं । मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी गर्ने जिम्मा सुजललाई दिएका हुन्।

नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो।

कप्तान विराजको फिटनेसको समस्या देखिँदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् ।

मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग नेपालले सोमबार उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टिम :

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर सहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *