अमेजनको डढेलो नियन्त्रणका लागि सेना परिचालन

डिसी नेपाल
७ भदौ २०७६ १३:३२

बीबीसी । ब्राजिलका राष्ट्रपतिले अमेजन जङ्गल क्षेत्रमा लागेका आगो निभाउन सशस्त्र सुरक्षा फौजलाई आदेश दिएका छन्। राष्ट्रपति जइर बोल्सोनारुले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी भूभाग र सीमावर्ती क्षेत्रहरूमा लागेका आगो नियन्त्रणमा लिनका लागि सैनिकहरू खटाउन आदेश दिएका हुन्।

युरोपेली नेताहरूले अमेजन क्षेत्रमा लागेका आगो निभाउनका लागि ब्राजिलमाथि दबाब तीव्र बनाएपछि बोल्सोनारुले यस्तो आदेश दिएका हुन्। उनले जङ्गलमा लागेको आगोको बहानामा कुनै पनि देशविरुद्ध सजाय दिइनु उचित नहुने भन्दै ब्राजिलविरुद्ध अन्य देशहरूले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्।

ब्राजिलले अमेजनका जङ्गलमा लागेका आगो निभाउन थप काम नगरे दक्षिण अमेरिकी देशहरूसँगको आफ्नो ठूलो व्यापार सम्झौता नवीकरण नगर्ने चेतावनी फ्रान्स र आयरल्याण्डले दिएपछि बोल्सोनारुले पछिल्लो कदम चालेका हुन्।

धेरैजसो आगो किसानहरूले वन मासेर खेतीयोग्य जमिन पाउनका लागि जानाजान लगाएको हुनसक्ने आशङ्का गरिएको छ। बोल्सोनारुको अमेजनको जमिनलाई कृषि र खानीको लागि प्रयोग गर्न दिने नीतिका कारण उनको आलोचना भइरहेको छ।

तर शुक्रवार टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले विश्वभर नै वनमा आगलागी हुने गरेको बताउँदै त्यसलाई ब्रजिलविरुद्ध सम्भाव्य अन्तर्राष्ट्रिय प्रतिबन्धको बहाना बनाउन नहुनेमा जोड दिए। अमेजनका वनमा आगलागी भइरहँदा ब्रजिलमा वातावरणवादी समूहहरूले विरोध प्रदर्शन गर्दै आगोसँग जुध्न थप कदम चालिनु पर्ने माग गरेका छन्।

अन्य देशमा रहेका ब्रजिलका दूतावासहरू बाहिर पनि त्यस्तै प्रदर्शनहरू भएका छन्। अमेजन विश्वकै ठूलो वर्षावन अर्थात् रेन फरेस्ट हो र त्यहाँ भित्र सङ्ग्रहित हुने कार्बनले विश्वको तापमानमा वृद्धि हुने क्रमलाई सुस्त बनाइदिन्छ।

विश्वको फोक्सो मानिने अमेजन क्षेत्रमा ३० लाख प्रजातिका वनस्पति तथा वन्यजन्तु पाइन्छन्। त्यहाँ करिब १० लाख आदिवासी मानिस बसोबास गर्दछन्। टेलिभिजन सम्बोधनमा बोल्सोनारुले आफूले सैन्य फौजहरूलाई आगो निभाउने अख्तियारी दिएको बताए।

‘एक सैनिकको रूपमा म जहिले पनि अमेजनको जङ्गललाई माया गर्न सिकेको छु र म अहिले यसलाई संरक्षण गर्न सहयोग गर्न चाहन्छु,’ उनले भने। उनको आदेशको शब्दावली जटिल भएपनि अब सैनिकहरू संरक्षित क्षेत्रसहित आदिवासी भूभाग र सीमावर्ती क्षेत्रमा खटिने भएका छन्।

बोल्सोनारुका अनुसार क्षेत्रीय प्रशासकहरूको निर्देशनमा सैनिकहरूले वातावरणीय अपराधविरुद्ध कदम चाल्न सक्छन्। साथसाथै सैनिकहरूले आगलागी हुनसक्ने क्षेत्रमा आगो नियन्त्रणका कामहरू गर्न सक्छन्।

उनीहरू रक्षामन्त्रीको निर्देशनमा अगस्ट २४ देखि सेप्टेम्बर २४ सम्म आगलागी नियन्त्रणमा खटिन सक्छन्। अमेजनका वनमा लागेका आगोका कारण बोल्सोनारुले अन्तर्राष्ट्रिय रूपमा आलोचना खेपिरहेका छन्।

जर्मनीकी चान्सलर एङ्गेला मर्कल, फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँ र ब्रिटेनका प्रधानमन्त्री बोरिस जनसनले अमेजनमा लागेको आगोलाई अन्तर्राष्ट्रिय सङ्कट भनेका छन्।मर्कलले आगोलाई गम्भीर आपत्‌काल भनेकी छन्। माक्रोँले हाम्रो घर जलिरहेको छ भन्दै ट्विटरमा सन्देश लेखेका छन्।

दुवैले त्यो विषयमा यो सप्ताहको अन्तमा सबैभन्दा धनी राष्ट्रहरूको समूह जी–सेभेनको बैठकमा छलफल हुनु पर्नेमा जोड दिएका छन्। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बिहीवार अमेजनको जङ्गल बचाउनु पर्नेमा जोड दिएका थिए।

उनले ट्विटरमा लेखे, ‘विश्वले हावापानी सङ्कट भोग्दै गर्दा हामीले हाम्रो अक्सिजन र जैविक विविधताको प्रमुख स्रोतलाई थप खतरामा पार्न सक्दैनौँ।’ राष्ट्रपति ट्रम्पले शुक्रवार साँझ आफूले बोल्सोनारुसँग कुरा गरेको बताए। उनले ट्विटरमा लेखेका छन्, ‘मैले उहाँलाई संयुक्त राज्य अमेरिकाले अमेजनको वर्षावनमा लागेको आगो निभाउन सहयोग गर्न सक्ने बताएको छु, हामी मदत गर्न तयार छौँ!’

ब्रजिलको पश्चिमी छिमेकी बोलिभियाका वन क्षेत्रमा पनि आगलागी भएका विवरण प्राप्त भएका छन्। त्यहाँ ठाउँ ठाउँमा वन डढेलो फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्नियाबाट बोइङ ७४७ सुपरट्याङ्कर भनिने पानी बोक्ने विमान उडाइएको छ। त्यो सुपरट्याङ्कर विमानले बोलिभियामा आगलागीबाट अति प्रभावित क्षेत्रहरूमा आकासबाटै हजारौँ लिटर पानी खसालेर आगो निभाउने प्रयास थालेको छ।

अहिले त्यहाँको कृषिका लागि प्रख्यात सान्ता क्रुज क्षेत्रमा लागेका वन डढेलोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ। बोलिभियाका उपराष्ट्रपतिका अनुसार लास तापेरास नगर नजिकैको क्षेत्रलाई प्राथमिकतामा राखेर आगो नियन्त्रण प्रयास अघि बढिरहेको छ।

बोलिभियाका अन्य साना डढेलो लागेका क्षेत्रहरूमा चाहिँ आगो निभाउन हेलिकप्टर, साना विमान र स्थल सेना खटाइएको छ। न्याशनल इन्टिच्युट फर स्पेस रिसर्चले प्रकाशित गरेका भूउपग्रहीय तस्बिरमा देखिए अनुसार ब्रजिलमा वन डढेलो र आगलागी हुने क्रम यो वर्ष ८५ प्रतिशतले बढेको छ। अधिकांश आगो अमेजन क्षेत्रमा लागेको छ।

बोल्सोनारुले त्यो तथ्याङ्क मिथ्या भएको बताउँदै तस्बिहरूमा देखिएको आगो वन डढेलो नभई त्यो किसानहरूले रोपाइँपूर्व खेतहरुमा खर तथा परालहरू जलाउने याम भएको दाबी गरेका छन्। तर पछिल्ला तस्बिर यसअघिका यहि यामका तस्बिरसँग मेल नखाने तर्क गरिएको छ।

संरक्षणकर्मीहरूले भने बोल्सोनारुले वन तस्कर तथा किसानहरूलाई वन मास्न दुरुत्साहन गरेको आरोप लगाएका छन्। आफ्नो चुनाव प्रचारको क्रममा बोल्सोनारुले वर्षावनमा पुर्‍याएको क्षतिको जरिवाना कम गर्ने र त्यहाँ वातावरणवादीको प्रभाव कम गर्ने प्रतिज्ञा गरेका थिए। यसैबीच अमेरिकी अन्तरिक्ष निकाय नासाले चाहिँ अमेजन तटीय क्षेत्रमा यो वर्ष लागेको आगो गत १५ वर्षको औसत नजिकै रहेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *