पुडासैनी आत्माहत्या प्रकरण : युवराजको बयान सुरु, यसपछि रविको हुने

डिसी नेपाल
९ भदौ २०७६ १२:५९

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान शुरु भएको छ। आइतबार सोही अभियोगमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ। त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी दिए।

बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच/पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको र अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो।

बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने बताइएको छ। पक्राउ परेकाहरुको समर्थनमा आइतबार प्रदर्शन भएपछि आज स्थानीय प्रशासनले अदालत र आसपासमा निषेधित क्षेत्र घोषणा गरी पाँच जनाभन्दा बढीलाई हिँडडुल गर्न रोक लगाएको छ।

कडा सुरक्षा व्यवस्था हुँदा पनि विभिन्न चोकमा समर्थक जम्मा हुने क्रम शुरु भएको छ । मुलुकी अपराधसंहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो। गत साउन २० गते नारायणगढको एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *