क्रिकेट इतिहासकै सबैभन्दा अद्भूत इनिङ, जसको रन लेख्दा स्कोरर थाके तर डन थाकेनन्

डिसी नेपाल
१० भदौ २०७६ १६:५३

काठमाडौं। २५ अगष्ट २०१९ इङल्याण्डको लागि ऐतिहासिक दिन बन्यो । हेडिङलेको लीड्स मैदान एक अद्भूत खेलको साक्षी बन्यो । पहिलो इनिङमा मात्रै ६७ रनमा अलआउट भएको इङल्याण्डले दोस्रो इनिङमा ३५९ रनको विशाल लक्ष्य हासिल गर्यो । यो जितको हिरो बने इङल्याण्डका अलराउण्डर बेन स्टोक्स जो यसअघि इङल्याण्डले विश्वकप जित्दा पनि फाइनलका हिरो थिए ।

लिड्सको मैदानको लागि यो सब देख्नु नौलो थिएन । लिड्सको मैदान त क्रिकेट इतिहासकै सबैभन्दा अद्भूत इनिङको साक्षी हो जुन इनिङको बारेमा आज पनि क्रिकेट फ्यानले सुन्दा चकित पर्छन् । यो इनिङ अहिलेसम्म पनि एक रेकर्ड हो । यो इनिङ आजभन्दा ८९ वर्ष पहिले लिड्स मैदानमै खेलिएको थियो । विश्व क्रिकेटमा एक दायाँहाते ब्याट्सम्यान थिए जो पिचमा हुँदा बल बाउण्ड्रीबाहिर जानु सामान्य मानिन्थ्यो । अहिलेसम्म पनि आफ्नो अद्भूत रेकर्ड कायमै राख्ने ती महान खेलाडी थिए सर डन ब्रेडम्यान ।

आज ब्रेडम्यानको १११ औं जन्मदिन । २७ अगष्ट १९०८ मा उनी अस्ट्रेलियाको कुटामुंडरामा जन्मिएका थिए । ११ जुलाइ १९३० मा एशेज सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाका कप्तान विलियम मल्डन उडफुलले टस जितेर पहिले ब्याटिङ रोजे । तर, उनको फैसला ११ औं बलमै गलत साबित हुने खतरा बढ्यो किनकि ११ औं बलमै ओपनर आर्ची ज्याक्सन आउट भए । त्यसपछि २१ वर्षका युवा ब्याट्सम्यान ब्याटिङ गर्न निस्किए । ती युवाले दिनभर खेले र बेलुकासम्म ३०९ रन ठोकेर नटआउट फर्किए । यो क्रिकेट इतिहासमै पहिलो तेहरो शतक थियो र एक दिनमा ३ सय रन पूरा गर्ने उनी एक्ला खेलाडी बनेका थिए । ती युवा ब्रेडम्यान नै थिए ।

जानकारहरुले भनेअनुसार लीड्समा तेस्रो टेस्टअगाडि ब्रेम्यानले कुनै अभ्यास गरेका थिएनन् । लण्डनमा दोस्रो टेस्ट जितेपछि उनी बिम्बलडन टेनिसको फाइनल हेर्न गएका थिए । त्यसपछि पनि उनी क्रिकेटबाट टाढै रहे । लण्डनमा भएको दोस्रो टेस्टमा पनि उनले २५४ रनको इनिङ खेलेका थिए । ब्रेडम्यानको त्यो प्रलयकारी इनिङको तीन दशकपछि १९६५ मा इङल्याण्डका फास्ट बलर हेरोल्ड लारउडले आफ्नो आत्मकथामा त्यो दिन ब्रेडम्यान खाता नखोली आउट भएको दावी गरे । उनले आफूले ब्रेडम्यानलाई शून्यमै विकेटपछाडि क्याच गराएको भनेका थिए ।

लारउडका अनुसार विकेटपछाडि र आसपास भएका सबै खेलाडीले अपिल गरेका थिए तर अम्पायरले यसमा ध्यान दिएनन् । उनले लेखेका थिए –‘मेरो मनमा कुनै सन्देह नै थिएन कि उनी स्पष्ट रुपमा आउट थिए । विकेट आपास भएका सबैले अपिल गरेका थिए । यहाँसम्म कि ज्याक हब्सले पनि जो सबैभन्दा निष्पक्ष व्यक्ति थिए ।’ तर, पछि खेलको रेकर्डिङ हेर्दा लारउडले गलत बोलेको थाहा भयो किनकि ब्रेडम्यानले खाता नखोल्दासम्म उनले बलिङ नै गरेका थिएनन् ।

ब्रेडम्यानले त्यो खेलमा लन्चभन्दा पहिल्यै शतक बनाएका थिए । लन्चअगाडि उनले १०५ रन बनाएका थिए । ब्रेडम्यानको ब्याटबाट पहिलो गलत स्ट्रोक १४१ रनको स्कोरमा निस्कियो जब उनले बललाई मिड अनतर्फ खेले । तर बल कसैको हातमा नगइ सुरक्षित रुपमा भुइँमा खस्यो । चिया समयसम्म उनले दोहोरो शतक ठोके । दिनको खेल सकिनै लाग्दा २७३ रनको स्कोरमा इङल्याण्डका खेलाडीले उनलाई आउट गर्ने वास्तविक मौका पाए । विकेटकिपर जर्ज डकवर्थले जर्ज गिरीको बलमा एउटा कठिन क्याच समाते तर बलले जमिन छोयो । डन मुस्कुराए, डकवर्थ रिसमा उनलाई हेरिरहे ।

दिन सकिँदासम्म ब्रेडम्यान ३०९ रनमा नटआउट थिए । एंग्लो अस्ट्रेलियन क्रिकेटमा पहिलो तेहरो शतक हानेपछि उनले रेगी फेस्टरको २८७ रनको रेकर्ड तोडे । द टाइम्सका अनुसार त्यो इनिङमा ब्रेडम्यानले खेलेका शटहरु अरु खेलाडीबाट हेर्न पूरै एशेज श्रृंखला हेर्नुपर्छ किनकि उनले जति शट खेले ती सबै शत एउटै खेलाडीले कहिल्यै खेल्न सकेका छैनन् । उनले आफ्नो पहिलो दिनको इनिङमा ४२ चौका हानेका थिए ।

भनिन्छ, जब दिनमा ३ सय रन बनाएर ब्रेडम्यान तरोताजा मुडमा मैदानबाट बाहिरिए, त्यतिबेला मैदानमा उभिएका अम्पायर, दर्शक सबै निकै थाकेका थिए । यदि कसैको हालत सबैभन्दा खराब थियो भने ती थिए स्कोरर जो स्कोरबोर्डमा रन लेख्दालेख्दा थाकेर लखतरान थिए । भोलिपल्ट ३३४ रनको स्कोरमा ब्रेडम्यान आउट भए । उनले आफ्नो करिअरमा ५२ टेस्टमा ८० इनिङ खेल्दै २९ शतक र १३ अर्धशतकको सहयोगमा ६९९६ रन बनाए ।

यी महान खेलाडीको टेस्टमा औसत ९९.९४ छ अर्थात जुन आँकडालाई अहिलेसम्म कसैले उछिन्न त के नजिक पुग्न पनि सकेको छैन । दोस्रो स्थानमा रहेका अस्ट्रेलियाकै स्टिभ स्मिथको औसत ब्रेडम्यानकोभन्दा धेरै पछाडि ६३.२४ छ । यति अद्भूत करिअर भएका यी महान खेलाडी आफ्नो अन्तिम खेलमा भने शून्यमै आउट भएका थिए । १४ अगष्ट १९४८ मा यी महान खेलाडीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *