साफ यू-१५ फुटबलः नेपालले बङ्गलादेशलाई ४-१ गोलले हरायो

डिसी नेपाल
१० भदौ २०७६ २०:०३

काठमाडौं। भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ। भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो।

यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो। बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक/एक गोल गरे। बङ्गलादेशका लागि मियाँले सान्त्वना गोल गरे। जितसँगै नेपाल तीन खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ।

तेस्रो स्थानमा झरेको बङ्गलादेशले पनि तीन खेलबाट छ अङ्क नै बटुलेको छ। अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ। यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *