दलित तथा सीमान्तकृत परिवारलाई सौर्यबत्ती

डिसी नेपाल
१६ भदौ २०७६ १०:०१

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडाका दलित, थामी तथा सीमान्तकृत समुदायका घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको हो।

उज्यालो मेलुङ नारालाई साकार पार्न अनुदान वितरण गर्न शुरु गरेको सौर्यबत्ती सेटमा एक घरपरिवारलाई पुग्ने गरी चार वटा चिम, एउटा ब्याट्री, एउटा सोलार प्यानल र सौर्यबत्ती जडानका लागि आवश्यक पर्ने सामग्री रहेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

बिहीबारबाट शुरु गरेको अभियानमा मेुलुङ गाउँपालिका वडा नं ७ का १११ दलित तथा सीमान्तकृत र आइतबार वडा नं ४ का ४३ घरपरिवारलाई सौर्यबत्ती सेट उपलब्ध गराएको छ। बाँकी रहेका अन्य वडामा क्रमिकरूपमा वितरण गर्दै जाने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

अनुदानमा वितरण गर्न लागेको सौर्यबत्ती सेटको मूल्य प्रतिसोलार सेट रु १२ हजार पर्ने र गाउँपालिकाभित्रका एक हजार परिवारलाई नै वितरण गर्न करीब रु एक करोड २० लाख रकम पर्ने भएतापनि त्यसको सबै लागत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने अध्यक्ष श्रेष्ठले बताए।

मेलुङ गाउँपालिकाको दुर्गम क्षेत्रमा नियमित विद्युत् नहुने र अन्धकारमा बस्नुपर्ने बाध्यता तथा बालबालिकालाई अध्ययन गर्न समस्या हुने भएका कारण गाउँपालिकाले वैकल्पिक ऊर्जाको कार्यक्रमलाई अघि सारेको हो। मेलुङ गाउँपालिकाले उज्यालो मेलुङ अभियानअन्तर्गत गाउँपालिकाको मुख्यचोक तथा विभिन्न बस्तीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न गाउँसभाबाट नीति तथा कार्यक्रम नै पास गरी रु १० लाख रकमसमेत विनियोजन गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *