गैँडा गणना चैत १ देखि गरिने, गृहकार्य सुरु

डिसी नेपाल
१६ भदौ २०७६ १२:३८

चितवन । यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । ती सबै निकुञ्जमा गैँडा गणना एकसाथ गरिने छ।

विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलका अनुसार चैत १ गतेदेखि गैँडा गणनाका लागि गृहकार्य शुरु भइसकेको छ । निकुञ्जहरुमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यदल गठन हुने क्रम शुरु भएको छ । “विभागमा पनि छुट्टै समिति गठन हुनेछ”, कँडेलले भने। गैँडा गणनाका लागि विभागले रु एक करोड १० लाख विनियोजन गरेको छ । अपुग रकमका लागि दाताको भर पर्नुपर्ने विभागले जनाएको छ । सवै निकुञ्जमा गैँडा गणना गर्दा रु एक करोड ५० लाख हाराहारी खर्च हुने कँडेलले जानकारी दिए।

गत वर्ष विभागले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन। कँडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गणना गर्न करिब एक महिना लाग्ने छ भने अन्य निकुञ्जमा संख्या अनुसार एक सातादेखि दश दिनसम्म लाग्ने अनुमान गरिएको छ।

सबैभन्दा बढी गैँडा चितवनमा छ । सन् २०१५ को गणना अनुसार देशभर ६ सय ४५ गैँडा रहेका थिए । छ सय पाँच गैँडा चितवन निकुञ्जमा थिए । दुई वर्ष अघि आएको बाढीका कारण चितवनमा धेरै गैँडा बगाएको थियो । केही गैँडा मृत भेटिएका थिए । गैँडाको वास्तविक सङ्ख्या पत्ता लगाउन गत आवमा गणनाको तयारी गरिएको थियो।

प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार कार्यदलको बैठकले सहायक संरक्षण अधिकृतको संयोजकत्वमा उपकार्यदल गठन गरी आवश्यक पर्ने सामग्री, बजेटलगायत विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यसैगरी हात्तिसारका शाखा अधिकृतको संयोजकत्वमा प्रयोग गर्न सकिने हात्तिका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न अर्को समिति गठन गरिएको ढकालले जानकारी दिए।

कार्यदलमा साझेदार संस्थासँगै सरोकारवाला निकायका प्रमुख सदस्य छन् भने उपकार्यदलमा तिनका प्रतिनिधि सदस्य छन् । गैँडा गणना हुने भए पछि निकुञ्जले घाँसे मैदान व्यवस्थापन, फायर लाइनलगायत नियमित कामको कार्यतालिका अहिले नै निर्माण गरी काम अघि बढाइने निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *