सरकारद्वारा काठमाडौंमा १ हजार सडक बालबालिका उद्धार

डिसी नेपाल
२९ भदौ २०७६ १४:५०

काठमाडौं। सरकारले गत एक वर्ष भित्र काठमाडाैं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुर्नस्थापना गरिएको उल्लेख गरिएको हो।

सो तथ्यांकमा चालु आर्थिक वर्षबाटै देशका मुख्य मुख्य सहरका सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाको कामलाई सुरु गर्ने योजना समावेश गरिएको छ। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले देशका अन्य सहरमा सडक बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कामलाई चालू आर्थिक वर्षबाटै सुरु गर्नेगरी नीति, योजना र कार्यक्रम तय गरिएको जानकारी दिए।

उनले बालबालिकामाथि श्रम शोसन हुन नदिन ‘बाल श्रम गुरुयोजना’ कार्यान्वयनमा ल्याइएको बताए।  सरकारी तथ्यांक अनुसार पछिल्ला एक वर्षमा सबैभन्दा बढि बालबालिका विरुद्धको घटनामा प्रदेश १ मा भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको छ।

सचिव घिमिरेले एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढी १३१ वटा बालबालिका विरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको बताए।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बालबालिकामाथि हुने सबै प्रकारको शोषण र विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध भएर लागि परेको बताए। उनले बाल श्रम अन्त्यका लागि सरकारले त्यसको गुरुयोजना नै तय गरेर काम गरिरहेको बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाको अधिकारको क्षेत्रमा सरकारले उत्साहका साथ काम गरिरहेको दाबी गरिन् उनले स्थानीय तहसम्म पनि बाल अधिकार हनन् हुन नदिन सरकारले सहकार्यका साथ काम गरिरहेको बताइन्।

सरकारले बाल अधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दावी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *