नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान

डिसी नेपाल
१ असोज २०७६ ८:००

चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गरेका थिए ।

हाल ती पुलहरु छ मिटर हाराहारी फराकिला छन् । सडक भने नौदेखि ११ मिटर फराकिलोे छ। सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईका अनुसार एक साताअघि डिजाइनसहित निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

एक महीनाभित्रमा प्राप्त बोलपत्रमध्ये छनोट गरी ठेक्काको टुङ्गो लगाइनेछ। ती पुल निर्माण सम्पन्न गर्न करीब तीन वर्ष लाग्ने अनुमान गरिएको भट्टराईले जानकारी दिए । बोलपत्रको टुङ्गो लागेपछि वास्तविक लागत आउने भए पनि रु एक अर्ब ३० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । शुरुमा नेपाल सरकारले पुल निर्माणको भुक्तानी गर्नेछ।

पछि सो रकम ऋणका रूपमा विश्व बैंकले उपलब्ध गराउने उनले जानकारी दिए । निर्माण गर्न अप्ठ्यारो पर्ने तीन पुल नौ मिटर फराकिला हुनेछन् भने अन्य पुल ११ मिटर फराकिला हुने भट्टराईले बताए । ठेक्का परेपछि ठेकेदार कम्पनीले पहिले पुलको नक्साङ्कन गर्नेछन्। सो नक्सा विभागले अनुमोदन गरेपछि निर्माणको काम शुरु हुनेछ।

हाल सोही सडकखण्डका तीन पुल निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधीन अवस्थामा छ। साँघुरा र जीर्ण पुल भएकाले समय–समयमा सवारी आवागमनमा अवरोध हुँदै आएको छ। सडकको भित्ता काटेर फराकिलो बनाएसँगै यस वर्षको वर्षात्मा यात्रुले दुःख पाएका छैनन् । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवागमन हुने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकका रूपमा यस सडकलाई लिने गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *