साफ यू–१८ फुटबलमा नेपाल र माल्दिभ्सको खेल बराबरी
काठमाडौँ । साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । समूह ‘ए’ मा रहेको साविक विजेता नेपालले हलचोक मैदानमा सुरुमै गोल खान पुगेको थियो। १३ औं मिनेटमा पेनाल्टीमार्फत माल्दिभ्सले गोल गरेको हो। रोशन दोङले बक्सभित्र माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि पाएको पेनाल्टीलाई नजिम आफैंले सदुपयोग गरेका थिए।
एक गोलले पछि परेको नेपालले त्यसयता बल पोजिसनमा सुधार गरेपनि पहिलो हाफमा गोल गर्न सकेन। ७५ औं मिनेटमा मनिष डाँगीले उत्कृष्ट हेड गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। समूह ‘ए’मा नेपाल र माल्दिभ्ससँगै भुटान पनि छ। नेपालले भुटानसँग आइतबार प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलमा पुग्नका लागि नेपाललाई त्यस खेल जित्नैपर्ने भएको छ। नेपाली टोली यसअघिका दुवै संस्करणको विजेता हो। शनिबार समूह ‘बी’ अन्तर्गत बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment