कुमारलाई स्वर्ण

डिसी नेपाल
३ असोज २०७६ २१:०६

काठमाडौं। झापाका कुमार बस्नेतले टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्शल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष ६० केजीमाथि फाइनलमा कुमारले नेपाल आर्मीका चित्रबहादुर अधिकारीलाई पराजित गरे । केन्द्रीय डोजाङका छोडक मार्को तेश्रो भए ।

पुरुष ३० केजीमुनि केन्द्रीय डोजाङका अमित जिसीले स्वर्ण, धनगढीका भैरव बटालाले रजत र धनगढीका कृष्ण बोहराले कांस्य जिते । पुरुष ५० देखि ५९.५ केजीमा आर्मीका तारा तामाङ पहिलो, नेपाल प्रहरीका कवि अधिकारी दोश्रो र आर्मीका राजेश चौधरी तेश्रो भए ।

पुरुष ४० देखि ४९.५ केजीमा धनगढीका कमलसिंह ठकुरी प्रथम, सिन्धुपाल्चोकका राजु दनुवार द्वितीय र सिन्धुपाल्चोकका सन्तोष माझी तृतीय स्थानमा रहे । पुरुष ३० देखि ३९.५ केजीमा धनगढीका नितेश कठायत, धनगढीकै निशान साउद र केन्द्रीय डोजाङका मिलन राईले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

महिला ४० देखि ५० केजीमा केन्द्रीय डोजाङकी साक्षी गिरीले पहिलो स्थान हात पारिन् । फाइनलमा साक्षीले म्यागकी सन्ध्या श्रेष्ठलाई हराइन् । केन्द्रीय डोजाङकी विमला तामाङले तेश्रो स्थानमा चित्त बुझाइन् । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, आयोजक जित कुण्डो संघका कार्यवाहक अध्यक्ष रामबहादुर ठकुरी, महासचिव शिवबहादुर थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा ६५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *