द्रुतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए

डिसी नेपाल
४ असोज २०७६ १६:२६

काठमाडौं। नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा आज बृहत् वृक्षरोपण गरेको छ।

संविधान दिवसको अवसर पारेर शान्ति टोलको पाँच हेक्टर जग्गामा गरिएको उक्त कार्यक्रमा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनाका अनुसार, बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरोकारवाला निकायका पदाधिकारी उक्त वृक्षरोणमा सहभागी थिए।

उक्त स्थानमा उम्रिएका साललगायतका बिरुवा र नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने कार्यसमेत भएको सेनाले जनाएको छ। वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजनाबीचको समझदारीअनुरुप द्रुतमार्ग निर्माणका क्रममा हालसम्म हटाइएका १७ हजार ९५४ र पछि कटान गर्नुपर्ने रुखको सट्टामा छ लाखको सङ्ख्यामा बिरुवा रोपिनेछ।

वैशाखदेखि बाराको निजगढ तथा मकवानपुरको राजदमार इलाकामा आफ्नै नर्सरी स्थापना गरी जमीन सुहाउँदो र छिटो हुर्कने प्रजातिका एक लाख ५० हजार बिरुवा उत्पादन गरिसकेको छ। निजगढ र कोल्हवी नगरपालिकामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको पहिचान गरिएको १८८ हेक्टर खाली जग्गाको सर्भेगरि वृक्षरोपण गरिने पनि नेपाली सेनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *