एनआरएनए आईसीसी कोषाध्यक्षमा जापानबाट श्रेष्ठको उम्मेदवारी 

डिसी नेपाल
१० असोज २०७६ १४:४७

काठमाडौं। गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए/आईसीसी) को कोषाध्यक्षमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।

संघको वर्तमान कार्यसमितिमा आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका  श्रेष्ठसँग नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिमा सदस्य समेत भएर काम गरेको अनुभव पनि छ।

विगत लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रहेका श्रेष्ठले संघको कोष पारदर्शी राख्दै यसलाई वैज्ञानिक तथा प्रभावकारी ढंगले चलाउने ज्ञान, सीप, अनुभव र योग्यता आफूसँग भएकाले तथा संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन तयार रहेर आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको बताएका छन्।  एनआरएनए अभियान मार्फत समग्र मुलुकको आर्थिक समृद्धिमा समेत योगदान दिन चाहेको उनको भनाई छ।

हाईड्रो, बैंकिंग, रेमिट्यान्स, आधुनिक कृषि, आईटी, इन्सुरेन्स, आयात निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रहेका श्रेष्ठले आफ्नो योग्यता र व्यवसायिक कार्यअनुभवले आफू कोषाध्यक्ष पद सम्हाल्न योग्य रहेको दावी गरे। ‘मेरो ऊर्जालाई अझ बढी प्रभावकारी रुपमा समाजको हितमा यसै साझा संस्था मार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु । मेरो योग्यता र व्यवसयीक कार्यअनुभवले पनि मलाई सहयोग गर्ने भएकोले कोषाध्यक्षको जिम्मेवारी सफलताका साथ निर्वाह गर्न म आफूलाई योग्य ठानेको छु ।’–श्रेष्ठले भने।

सहभागिता मुलक आर्थिक योगदानको नीति अवलम्बन गरेर संघको कोषलाई संस्थालाई आर्थिक रुपमा सवल बनाउने, श्रमिकहरूको हितको लागि काम गर्न  श्रमिक कल्याणकारी कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने,  कोषको पारदर्शिता, जबाफदेहिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने प्रतिवद्धतासमेत उनले गरेका छन्।

कोषाध्यक्षको जिम्मेवारी आफ्नो पोल्टामा परे गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने र उक्त कोषमा वार्षिक ८ करोड रुपैयाँ संकलन गर्ने कार्ययोजनालाई पनि प्राथमिक एजेण्डाका रुपमा श्रेष्ठले अघि सारेका छन्। त्यस्तै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन आफ्नो अधिकतम प्रयास रहने पनि बताए।

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी समाजशास्त्रमा स्नाकोत्तर हुन्। उनले जापानको ग्लोबिस विश्वविधालयबाट व्यवस्थापनमा स्नातकोत्तरको अध्ययन पनि गरेका छन्। यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी गर्नेक्रममा छन्।

श्रेष्ठ जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका सीईओ, तोनान कम्पनीका अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापान का प्रोमोटर एवं सल्लाहकार , CE HUMAN RESOURCES कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एक्स्प्रेस ग्लोवलका निर्देशक समेत हुन्।

उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर समेत रहेका छन्। उनले सिटी एक्सप्रेस ग्रुपका विभिन्न कम्पनीहरु, विभिन्न वैंकहरु, सिटी एक्सप्रेस फाइनान्स, सिटी एक्सप्रेस मनिट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी एक्सप्रेस ट्रेडिङ,सिटी इन्भेस्मेन्ट फण्ड,सिटी ट्राभल एण्ड टुर, आइटी कम्पनी , आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावर कम्पनीहरुमा  जिम्मेवार पदमा काम गरेको अनुभव पनि आफूसँग रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *