१२ गते आइतबार सार्वजनिक बिदा

डिसी नेपाल
१० असोज २०७६ २३:३७

कास्की । गण्डकी प्रदेश सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ ।

असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिनसक्ने व्यवस्थाअनुसार विभिन्न पक्षको मागअनुसार बिदाको निर्णय गरिएको उनको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने, ‘दिगो विकास लक्ष्य ः गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने, गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको नामको १५ रोपनी जमीन उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए।

त्यसैगरी जनजागृति माध्यमिक विद्यालयमा गाभिएको पोखरा–१८ सराङकोटको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमीन प्रदेशको सूचना प्रविधि उद्यान निर्माणका लागि उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने तथा पर्वत मोदी गाउँपालिकाका जुद्धबहादुर गुरुङलाई सहसचिव सरह सेवा सुविधा हुने गरी पर्यटन वर्ष सन् २०१९ देखि २०२२ सम्म कार्य सञ्चालनका लागि संयोजक नियुक्त गर्ने निर्णय गरिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *