एनआरएनए सचिवका प्रत्यासी शर्मा भन्छन्- ‘विदेशमा कार्यरत श्रमिकका मुद्दा प्राथमिकतामा’ 

डिसी नेपाल
१२ असोज २०७६ १७:१३

काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आईसीसी)को सचिवमा कतारबाट राजेन्द्रकुमार शर्मा (आरके)ले उम्मेदवारी घोषणा गरेका छन्।

शर्माले विश्व श्रम बजारमा रहेका नेपाली श्रमिकको मुद्दा पहिलो प्राथमिकतामा राख्न संघको आगामी कार्यकालका लागि आफ्न्नो सचिव पदमा उम्मेदवारी रहने बताएका छन्।

कतारलाई कर्मथलो बनाई विभिन्न मुलुकमा व्यवसाय सञ्चालन गर्दै आएका शर्मा संघको वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजकको जिम्मेवारीमा छन्।एनआरएनए एनसीसी कतारको सल्लाहकार, आईसीसी सदस्य हँुदै मध्यपूर्व संयोजकको नेत्तृत्व गरिसकेका शर्मा मुख्यतः श्रमिकका मुद्दा बोकेर आईसीसी सचिव पदका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

उनी एक सफल व्यवसायीसँगै समाजसेवीका रुपमा पनि परिचित छन् । शर्मा व्यवसाय र समाजसेवासँगै एनआरएन अभियानमा सक्रिय रहेका छन्। वैदैशीक रोजगारमा गएर विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई आर्थिक तथा नैतिक सहयोग गर्ने शर्माले एनआरएनएले सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधिमासमेत सहयोग गर्दै आएका छन्।

उनले सुरक्षित वैदेशिक रोजगार र श्रमिकका मुद्दालाई चुनावमा आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । शर्माले श्रमिकको समस्यालाई नजिकबाट बुझेकाले यो मुद्दा उठाएको बताएका छन् । उनले भने, ‘देशको अर्थतन्त्र धान्ने श्रमिकहरूको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरूको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ ।’ उनले तपाइको उम्मेदवारी किन भन्ने प्रश्नमा अगाडि थपे, ‘सुरक्षित वैदेशिक रोजगार तथा समस्यामा परेकाहरूको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्नुकासाथै स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो ।’ 

त्यस्तै शर्माले दोस्रो कार्ययोजनामा रेमिट्यान्सको सदुपयोग र लगानीलाई अघि सारेका छन् । रेमिट्यान्स नेपाली अर्थतन्त्रका प्रमुख आधार मध्येको एक हो । विश्वमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने पाँच राष्ट्रमध्ये नेपाल पनि एक हो । तर, यसरी रेमिट्यान्सका रूपमा भित्रिएको ठूलो धनराशिको पर्याप्त सदुपयोग हुन नसकेको शर्मा बताउँछन् । ‘रेमिट्यान्सको उत्पादनमूलक उपयोग हुन सकेको छैन, जुन ठूलो चिन्ता र चुनौतीको विषय हो । विदेशबाट भित्रिने रकम बढीजसो दैनिक उपभोगमै खर्च हुने गरेको छ ।’ शर्माले चिन्ता व्यक्त गरे। 

रेमिट्यान्सको सहि सदुपयोग गर्नसके समग्र मुलुककै आर्थिक परिसूचकहरूमा परिवर्तन ल्याउन सक्छ भन्ने शर्माको बुझाई छ । उनले वैदेशीक रोजगारमा गएका कामदारले पठाएको रकमको सहि सदुपयोग नहुँदा पछि दीर्घ रोगसँगै अशक्त भएर घर फर्किदा औषधीउपचार लगायतका खर्चको पनि जोहो गर्न नसक्ने परिस्थिति सिर्जना हुने भएकोले बेलैमा सचेत हुनुपर्नैमा जोड दिए। 

विदेशमा आर्जन गरिएको पुँजी लगानीमा के कसरी आकषिर्त गर्ने, रेमिट्यान्सको सदुपयोग कसरी गर्ने भन्नेतर्फ गम्भीरतापूर्वक चिन्तन गर्नु जरुरी भएको बताउँदै शर्माले यससम्बन्धी छुट्टै नीति नै बनाएर अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा वैदेशिक रोजगारीले ठोस योगदान पु¥याउने वातावरण बनाउन आफूले महत्वपूर्ण भूमीका खेल्ने प्रतिबद्धता गरेका छन्।

शर्माले नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचार प्रसार गर्न र उपभोगमा ल्याउन विश्वका हरेक कुनाबाट साथ सहयोग जुटाउनेकासाथै नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन विशेष कार्यक्रम पनि ल्याउने बताएका छन् । स्वदेशमा पर्यटन प्रवद्र्धन तथा सामूहिक लगानीको वातावारण सिर्जना गर्न विभिन्न मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगसँगको सहकार्यलाई विश्वसनीय बनाउने उनको भनाई छ । यस्तै शर्माले एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने बताएका छन्।

एनआरएनएले सबैलाई समेट्न नसकेको आरोप लागिरहेको बेला शर्माले संस्थालाई नारामा जस्तै सबैको साझा र समान स्वामित्व भएको भावनात्मक एकतासहितको बलियो संस्थाको रुपमा विकास गर्ने उनको योजना छ । सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, एनआरएनए सचिवालयमा दिगो आर्थिक ब्यवस्थापका लागि नियमित स्रोतको जोहो गर्ने जस्ता मुख्य एजेण्डाहरू उनले आफ्नो चुनावी घोषणा पत्रमा अघि सारेका छन्। 

शर्माले विभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरुको सीप, क्षमता र दक्षतालाई पहिचान गरेर देश विकाशमा जोड्ने बताए । उनले भने, ‘नेपालमा ठूला ठूला परियोजनामा विदेशबाट इन्जिनियर तथा दक्ष कामदार मगाइन्छ । नेपालीहरुले त्यो भन्दा राम्रो काम गर्न सक्छन् । तर, हामीहरुले सीपको पहिचान र क्षमता अभिवृद्धी गर्न सकिरहेका छैनौ ।’ उनी अगाडि भन्छन्, ‘भोलिका दिनमा नेपाली दक्ष कामदारहरु विदेशमा होइन नेपालमा नै खपत हुने वातावरण बनाउन मैले विशेष पहल गर्नेछु ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *