निःशुल्क शव ढुवानी नरोकिने
सांकेतिक तस्विर
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले दशैँका क्रममा सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको निःशुल्क शव ढुवानी नरोकिने प्रष्ट पारेको छ।
यही असोज १९ देखि २२ गतेसम्म बोर्डका सचिवालय बन्द हुने भए पनि शव ढुवानी सेवा नियमित हुने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए। बोर्डले बिदाको समयमा शव ढुवानी कार्यमा समन्वय गर्न उपसचिवको नेतृत्वमा चार कर्मचारीलाई तोकेको छ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा निधन भएका कामदारको शव त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घर ठेगानासम्म निःशुल्क रूपमा ढुवानी गर्दै आएको छ।
यसैबीच, बोर्डले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ दशैँका बिदाका दिन पनि खुल्ने भएको छ। बिदाका दिन बिहान १० देखि साँझ ५ बजेसम्म एक ‘सिफ्ट’मा कल सेन्टर सञ्चालन हुने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।
बोर्डले श्रम, रोजगार, वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment