विपन्नका घर उज्यालो बनाउँदै गाउँपालिका

डिसी नेपाल
१८ असोज २०७६ १३:२३

गलकोट । बागलुङको बरेङ गाउँपालिकाले केन्द्रीय तथा स्थानीयस्तरको लघु जलविद्युत्को पहुँचबाट विद्युत्बाट वञ्चित घरमा उज्यालो पुर्यायको छ। भौगोलिक विकटता, गरिबी र विपन्नताका कारण अझै पनि धिपधिपे टुकी बालेर रात काट्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ।

सामुदायिक जलविद्युतमा विद्युत् महसुल बढी आउने तथा शुरुमा जडान खर्च धेरै लाग्ने भएका कारण हालसम्म टुकीको भरमा बस्नु परेको वडा नं ३ का बासिन्दा भानबहादुर सार्कीले बताए । गाउँपालिकाका भरका ४१ विपन्न परिवारका लागि ४१ थान सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको दुर्गम ठाउँमा सामुदायिक विद्युत् भए पनि आर्थिक अभावले विद्युत् सेवाबाट वञ्चित भएका कारण निःशुल्क रुपमा सोलार प्रदान गरिएको अध्यक्ष शर्माले जानकारी दिए । आर्थिक अभावका कारण पाँच वटै वडाका विपन्न परिवार उज्यालोबाट वञ्चित भएको पाइएपछि गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गर्न ३ लाख विनियोजन गरेको थियो।

सोलार वितरणपछि गाउँपालिकाका गाउँ, टोल र बस्तीमा उज्यालोको सहज पहुँच विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । ‘विशेषगरी दलित र विपन्न परिवारले सामुदायिक विद्युत् जडान गर्न सकेका थिएनन्, घर नजिकै भएको बिजुली प्रयोग गर्न नसकेर हेरेर बस्नुपर्ने अवस्थाले हामीलाई गहिरो गरी छोयो’, प्रशासकीय अधिकृत पौडेलले भने।

विद्युत् महसुलसमेत तिर्न नसकेर अँध्यारोमा बसेका परिवारलाई पूर्ण उज्यालो गाउँ गराउनका लागि वडाभित्रका १० विपन्न परिवारलाई तीन वटा बल्ब बल्ने सोलार वितरण गरिएको वडा नं ३ बाटाकाचौरका वडाध्यक्ष पूर्णबहादुर खनालले जानकारी दिए। गाउँपालिकाले ४१ वटा सोलारमध्येमा वडा नं १ मा १०, वडा नं २ मा ११, वडा नं ३ मा १०, वडा नं ४ मा छ र वडा नं ५ मा चार थान सोलार प्रदान गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *