क्यानको निर्वाचन, दासानायकेको आगमन र नेपाली क्रिकेटमा चाँदीको घेरा

डिसी नेपाल
२२ असोज २०७६ ८:३३

काठमाडौं। नेपाली क्रिकेटको उतारचढावपूर्ण यात्राका बीचमा अहिले धेरै सकारात्मक संकेतहरु एकैपटक देखिएका छन्। नेपाल क्रिकेट संघ क्यानको निर्वाचन भएको छ। नेपाली टिमका सबैभन्दा सफल प्रशिक्षक पुबुदु दासानायके नेपालमै आएका छन् (यद्यपि राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा भने होइन) र यही बीचमा नेपाली कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय टि–२० त्रिकेटमा इतिहास रच्दै विश्वरेकर्ड बनाएका छन्। कप्तान खड्का अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा कप्तानको रुपमा लक्ष्य पिछा गर्दै शतक बनाउने एकमात्र ब्याट्सम्यान बनेका छन्।

यी सबै घटनाक्रमले नेपाली क्रिकेटलाई एकपटक अर्को ठूलो फड्को मार्ने अवसर प्रदान गरेको छ। अवसर एक पटक आउँछ र त्यो अवसरलाई सदुपयोग गर्न सक्ने हो भने सफलताका शिखरमा पुग्न सकिन्छ। इतिहासमा यस्ता धेरै घटनाक्रमहरु छन् जहाँ आएको अवसरको सदुपयोग गरी ठूलो फड्को मारिएको छ। नेपाली क्रिकेटलाई अहिले त्यस्तै सुनौलो अवसर आएको छ।

अहिले नेपालले एकदिवसीय मान्यता पाएको छ। तर, अहिलेसम्म नेपालले ६ एकदिवसीय मात्र खेलेको छ। नेपालले १८ मार्च २०१८ मा एकदिवसीय मान्यता पाएको थियो । त्यसपछि नेपालले पहिलो एकदिवसीय खेल्न ५ महिना कुर्नुपर्यो। नेपालले पहिलो एकदिवसीय १ अगष्ट २०१८ मा खेल्न पाएको थियो। नेदरल्याण्डसँग खेलिएको यो एकदिवसीय सिरिज १–१ को बराबरी भयो। नेपालले तेस्रो एकदिवसीय एशिया कप छनोटमा युएइसँग खेल्यो। त्यसपछि नेपालले युएइसँग ३ एकदिवसीय र ३ टि–२० को सिरिज खेल्यो। यी दुवै सिरिज नेपालले २–१ ले जित्यो। नेपालले अहिलेसम्म खेलेका ६ एकदिवसीयमध्ये ३ हारेको छ र ३ जितेको छ।

एकदिवसीय मान्यता पाएको डेढ वर्ष बितिसक्दा समेत नेपालले अहिलेसम्म दुई देशसँग मात्र एकदिवसीय खेल्न पाएको छ। जबकि एकदिवसीय मान्यता पाएका देशहरु नेपालसहित २० वटा छन्। तर, नेपालले अन्य देशसँग एकदिवसीय खेल्न किन सकेन ? किनकि नेपालमा क्रिकेट संघ थिएन। नेपाल क्रिकेट संघ आइसीसीको निलम्बनमा थियो। यही कारण नेपालका तर्फबाट अन्य देशहरुसँग एकदिवसीय सिरिज खेल्नको लागि पर्याप्त पहल हुन सकेन। तर, अब भने परिस्थिति त्यस्तो छैन।

नेपाल क्रिकेट संघको निर्वाचन भइसकेको छ। क्यानको निर्वाचन भइसकेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाललाई बधाइ दिएको छ । आइसीसीका उपाध्यक्ष इमरान ख्याजाले निलम्बन फकुवा गर्नको लागि मुख्य शर्त पूरा भइसकेको भन्दै अर्को महिना हुने आइसीसीको बैठकमा नेपालको निलम्बन फुकुवा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बताइसकेका छन्। आइसीसीको पछिल्लो भनाइले अब नेपालको निलम्बन फुकुवा हुने निश्चित जस्तै भइसकेको छ। यस्तोमा अब सम्भवतः एक–डेढ महिनापछि क्यानले सक्रिय रुपमा काम गर्न पाउनेछ।

अहिलेसम्म नेपाली टिमको व्यवस्थापन आइसीसीले गर्दै आएकोले एकदिवसीय सिरिजका लागि पर्याप्त पहल नभए पनि अब भने क्यान आफैंले टिमको व्यवस्थापन गर्न पाएपछि पर्याप्त पहल हुने र नेपालले धेरै एकदिवसीय सिरिज खेल्न पाउने आशा गर्न सकिन्छ। टेस्ट मान्यता पाइसकेका देशहरुसँग एकदिवसीय सिरिज आयोजना गर्न तुलनात्मक रुपमा केही कठिन हुन सक्छ तर टेस्ट मान्यता नपाएका र अस्थायी एकदिवसीय मान्यता भएका टिमहरु स्कटल्याण्ड, युएइ, नेदरल्याण्ड, नामिबिया, ओमान, पपुआ न्यूगिनी र अमेरिकासँग भने एकदिवसीय सिरिज गर्न सकिन्छ।

यसबाहेक छिमेकी देश पाकिस्तान पनि आफ्नो देशमा खेल आयोजना गर्न नपाएर मस्यामा छ। १० वर्षअघि श्रीलंकाली टिममाथि आतंकवादी आक्रमण भएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्न प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्ध फुकुवा भएको लामो समयसम्म पनि अरु देश पाकिस्तानमा गएर खेल्न चाहेनन् । अहिले १० वर्षपछि श्रीलंका गएर पाकिस्तानमा खेलिरहेको छ तर अन्य देश हिच्किचाइरहेका छन्।

छिमेकी राष्ट्रको नाताले नेपालले पाकिस्तान क्रिकेट बोर्डसँगको पराशर्ममा नेपाल र पाकिस्तानबीच सिरिज आयोजना गर्न सकिन्छ। आफ्नो देशमा सुरक्षा खतरा नभएको विश्वलाई देखाउँदै अन्य देशलाई आफ्नो देशमा आएर खेल्न प्रोत्साहित गर्ने उद्देश्यले पाकिस्तान यसको लागि तयार हुन सक्छ। यसले पाकिस्तानलाई राम्रो लाभ दिनेछ। पाकिस्तानजस्तो विश्वकप विजेता देशसँग खेल्न पाउनु नेपालको लागि पनि ठूलो उपलब्धी हुनेछ। यसका लागि क्यानको पहलले उपलब्धी दिन सक्छ।

अर्कोतर्फ नेपाली क्रिकेटका अहिलेसम्मकै सबैभन्दा सफल प्रशिक्षक पुबुदु दासानायके नेपाल आएका छन्। उनी एभरेष्ट प्रिमियर लिगको टिम भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक भएर आएका हुन्। २०११ मा दासानायके नेपालको प्रशिक्षक भएर आउँदा नेपाली टिम आइसीसीको डिभिजन ४ मा थियो। त्यो हैसियतको टिमलाई दासानायकेले ३ वर्षको अवधिमा डिभिजन ३, डिभिजन २ हुँदै २०१४ को विश्वकपसम्म पुर्याएका थिए। जुन टिम अहिले विश्वकपको छनोटसम्म पनि पुग्न सकेन।

क्यानमाथिको निलम्बन फुकुवा भएपछि नेपाली प्रशिक्षकको नियुक्तिको अधिकार पनि क्यानमै हुनेछ। केही महिनाअघि नेपालले आइसीसी विश्वकप छनोटको एसिया फाइनलमा सिंगापुरसँग हारेपछि नेपाली प्रशिक्षक उमेश पटवालले नेपाली टिम ग्लोबल क्वालिफायरसम्म पुग्न योग्य नै नभएको बताएका थिए। यो टिमका धेरै सदस्यहरु २०१४ विश्वकप खेलेका खेलाडी थिए। जुन टिमले विश्वकप खेलिसक्यो त्यो टिम छनोसम्म पुग्न योग्य नभएको पटवालको ठम्याइ छ। तर, जुन टिम डिभिजन ४ मा थियो त्यतिबेलै मैले यो टिमलाई विश्वकप खेलाउँछु भनेर घोषणा गरेका र ३ वर्षपछि विश्वकप खेलाएका प्रशिक्षक दासानायके हाम्रा अगाडि छन्, नेपालमै छन्।

दासानायके नेपालमै भएका बेला उनलाई नेपाली प्रशिक्षकको रुपमा अनुबन्ध गर्न क्यानले पहल गर्ने हो भने नेपाली टिमको स्तर धेरै माथि पुग्न सक्छ। दासानायकेको योग्यता र क्षमतामा शंका गर्ने ठाउँ छैन किनकि उनले नेपाली टिम छाडेपछि क्रिकेट जगतमा धेरै पछाडि रहेको अमेरिकाको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । दासानायके ‘पारस पत्थर’ थिए जसले अमेरिकालाई पनि ३ वर्षको अवधिमा एकदिवसीय मान्यता दिलाइछाडे। यदि दासानायके नेपालको प्रशिक्षक बने भने नेपाली क्रिकेट धेरै माथि पुग्ने अपेक्षा गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *