एनआरएनएको नवौँ विश्व सम्मेलनका लागि प्रतिनिधिहरू काठमाडौँ आउनेक्रम सुरु

डिसी नेपाल
२२ असोज २०७६ १४:०७

काठमाडौँ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० को नवौं विश्व सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ।

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दाबढी देशका प्रतिनिधिहरू नवौँ विश्व सम्मेलनमा भाग लिन काठमाडौँ आइसकेको जानकारी दिएकी छिन्।

सम्मेलन यही असोज २८ देखि  ३० गतेसम्म काठमाडौंमा हुँदैछ । ५५ देशका करिव २२ सय प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने एनआरएनएको अनुमान छ।

बिहीबारबाट सो सम्मेलनमा सहभागी हुनेहरूको नाम दर्ता गर्ने क्रम सुरु हुने सचिव गुरुङले बताइन् । उनले २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने पनि जानकारी दिइन्।

असोज २८ गते मंगलबार राजधानीको पाँचतारे होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सो सम्मेलनको उद्‌घाटन गर्ने कार्यक्रम छ । त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ। ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको पनि एनआरएनले जनाएको छ।

एनआरएनएले सो सम्मेलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरेकी हुन्।

हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *