नेपाल आयरल्यान्डसँग १३ रनले पराजित

डिसी नेपाल
२२ असोज २०७६ १४:४४

काठमाडौं । ओमनमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १ सय ३२ रनमा चित्त बुझाउन बाध्य भयो।

नेपालका लागि आरिफ शेखले २६, कप्तान पारस खड्काले २५, इशान पाण्डेले २२, दीपेन्द्रसिंह ऐरीले १९ तथा करन केसीले १६ रन जोडे ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्डले टस जितेर ब्याटिंग रोजेको थियो। पहिला ब्याटिंग गरेकोे उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएकाे थियाे।

नेपालका लागि सन्दीप लामिछानेले र अविनाश बोहराले समान २ विकेट पतन गरेका थिए। त्यस्तै करण केसी र ललित राजवंशीले समान एक विकेट लिएका थिए।

आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए। एन्ड्री बलबीनीले ३८ रन जोडेका थिए।

दुई जितपछि उत्साहित बनेपछि यो सिरिजमा नेपालको पहिलो हार हो ।नेपालले यसअघि सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो।

आजको खेलमा नेपाल पराजित भएसँगै आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उसले चार खेलबाट ६ अंक जोडेको छ भने, नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

नेपालले अन्तिम खेलमा ओमनसँग असोज २३ गते खेल्ने छ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *