बहुआयमिक सम्पर्क सञ्जाल मुख्य बुँदा

डिसी नेपाल
२६ असोज २०७६ १७:४१

काठमाडौं। नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आएका चिनियाँ राष्ट्रिपति सी जिनपिङ र राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओली, सत्तारुढ दल नेकपाका अध्यक्ष केपी ओली, प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच द्विपक्षीय तथा शिष्टाचार भेटवार्तापछि आइतबार नेपाल र चीनले सँयुक्त वक्तव्य जारी गरेका छन्।

आइतबार जारी १४ बुँदे सँयुक्त वक्तव्यमा समेटिएको मुख्य बुँदा बहुआयमिक सम्पर्क सञ्जाल रहेको छ। वक्तव्यको बुँदा नम्बर ५ मा बहुआयमिक सम्पर्क सञ्जालबारे उल्लेख गरिएको छ। दुबै मुलुक बेल्ट एण्ड रोड इनिसियटिभ अन्तरगत रहेर कनेक्टिभिटी, बन्दरगाहा, रोड, रेलवे, हवाई मार्ग र सञ्चारलाई मल्टि डाइमेशनल कनेक्टिभिटी फ्रेमवर्कमा राखेर काम गर्न सहमत भएको सो बुँदामा उल्लेख छ।

वक्तव्यमा दुबै मुलुकले एकअर्काको सार्वभौमसत्ताको सम्मान गर्ने उल्लेख छ। यस्तै नेपालले एक चीन नीतिमा आफ्नो प्रतिवद्धता दोहोर्याएको छ। चीनले नेपालमा शान्ति स्थापनापछि संविधानसभामाफर्त नयाँ संविधान जारी गर्दै राजनीतिक स्थायित्व प्राप्त गरेकोमा नेपाललाई बधाई दिएको छ भने नेपालले जनगणतन्त्र स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनलाई बधाई दिएको छ।

उच्च स्तरीय यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो भएकोसमेत सँयुक्त वक्तव्यमा उल्लेख गरिएको छ। यस्तै द्विपक्षीय वार्तापछि भएका विभिन्न समझदारी र सम्झौताका विषय पनि सँयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *