कप्तान पारसको राजीनामाप्रति क्यान असन्तुष्ट!

डिसी नेपाल
२८ असोज २०७६ १९:१२

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई विगत साढे तीनवर्षदेखि गरिएको निलम्बन फुकुवा गरेको भोलीपल्ट नेपालका सबैभन्दा सफल क्रिकेटर तथा कप्तान पारस खड्काले पदबाट राजीनामा दिएपछि क्रिकेट संघ नेपाल (क्यान) असन्तुष्ट देखिएको छ। कप्तानबाट राजीनामा दिनुअघि पारसले क्यानसँग कुनै सल्लाहा नगरेकोसमेत बुझिएको छ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सामाजिक सञ्जाल र मिडियाबाट पारसको राजीनामाबारे जानकारी पाएको बताए। उनले डिसी नेपालसँग भने, ‘औपचारिक कुनै पत्र आएको छैन। सल्लाहा पनि भएको थिएन।’

अध्यक्ष चन्दले आईसीसीले निलम्बन फुकुवा गरेपछि नेपाली क्रिकेटमा उत्साह आइरहेको बेला कप्तानको राजीनामा आएको बताए। उनले भने, ‘उहाँले व्यक्तिगत रुपमा राजीनामा दिनुभयो होला, क्यानको निलम्बन फुकुवाले उहाँ खुशी हुनुभएन? पक्कै पनि खुशी त हुनुभयो होला।’

अध्यक्ष चन्दले क्यानको बैठक बसेर यो विषयमा छलफल गरिने र आगामी दिनमा के गर्ने भन्ने विषयमा निर्णय लिइने बताए। राजीनामा फिर्ताका लागि आग्रह गर्ने वा नयाँ कप्तान बनाउने? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने, ‘क्यानको बैठक बस्छ, त्यहाँबाटै निर्णय हुन्छ। औपचारिक राजीनामाको पत्र पनि आएको छैन।’

अध्यक्ष चन्दले आईसीसीले निलम्बन फुकुवा गरेपछि अब क्यानले नेपाली क्रिकेटको विकासका लागि गर्नुपर्ने सबै कामहरु गर्ने बताए। उनले अब द्विपक्षीय श्रृंखला र घरेलु खेलमा क्यानले ध्यान दिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *