एक्लिँदै ओली

डिसी नेपाल
७ कार्तिक २०७६ १०:५५

दुई तिहाइ बहुमतको शक्तिशाली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा समर्थक सांसदको संख्या हेर्दा अत्यन्तै शक्तिशाली देखिन्छन्। पार्टीभित्र समेत कार्यकारी अधिकारसहितका ओलीको शक्ति ठूलो रहेको मानिन्छ।

तर, सरकार र पार्टीको नेतृत्व गर्ने क्रममा आउने परिथितिको व्यवस्थापन उचित तरिकाले गर्न नसक्दा उनी पार्टीभित्रै एक्लिँदै गएका छन्। अहिले नेकपाभित्र ओलीको सम्बन्ध प्रचण्ड, माधव नेपाल, बामदेव गौतमलगायतका नेताहरुसँग चिसिँदै गएको छ।

प्रधानमन्त्री ओली चतुर राजनीतिक खेलाडी हुन्। उनी आइपर्ने समस्या व्यवस्थापन गर्न पासा फाल्न सिपालु मानिन्छन्। केही महिनाअघि पार्टीको सचिवालयमा आफ्नो पकड बनाउन उनले माधवकुमार नेपाललाई एक्ल्याउने रणनीति लिए।

पहिलेदेखि नै आफूसँग असन्तुष्ट माधवकुमार नेपाल अर्का अध्यक्ष प्रचण्डसँग नजिकिएपछि ओली सशंकित भएका थिए। प्रचण्ड र नेपाल एक ढिक्का हुँदा सचिवालयमा उनीहरुको पकड बलियो हुन्थ्यो। यही कारण ओलीले नेपाल र प्रचण्डबीच ध्रुवीकरण गराइदिए।

नेपाल र प्रचण्डलाई अलग्याउन ओलीले प्रचण्डलाई आफूतिर तान्ने रणनीति लिए। निर्वाचनका बेला बाम गठबन्धन बन्दै गर्दा सहमति भएको भनेर चर्चा गरिएको एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी चलाउने विषयलाई अघि सारेर ओलीले प्रचण्डलाई आफ्नो पक्षमा ल्याए।

प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने र आफूले सरकार चलाउने प्रस्ताव राखेर ओलीले प्रचण्डलाई आफूतिर ल्याए । माधव नेपाल प्रचण्डको साथ नपाएपछि पार्टीभित्रै कमजोर बन्न पुगे।

ओलीले यस बीचमा प्रचण्डलाई कार्यकारी अधिकार पनि दिए तर सीमित समयको लागि मात्र। आफू स्वास्थ्य परीक्षणको लागि सिंगापुर जाने क्रममा प्रचण्डलाई कार्यकारी अधिकार दिएकोबारे पार्टीको सचिवालयका सदस्यहरुलाई जानकारी दिन ओलीले सचिवालय बैठक बोलाए।

ओलीको सामु प्रचण्ड, नेपाल र गौतमको चुनौती छ। यी नेताहरुलाई ओलीले आश्वासन त दिएका छन् तर कार्यान्वयन गर्न सकेका छैनन्। आइपर्ने चुनौती व्यवस्थापन गर्नको लागि पासा फालेका ओली अहिले आफ्नै आश्वासनका कारण अप्ठेरोमा छन्।

बैठकमा ओलीले आफूले प्रचण्डलाई सचिवालयको बैठक बोलाउने र नीतिगत निर्णय समेत गर्ने अधिकार दिएको बताउँदै बैठक बस्नुअघि आफूलाई जानकारी दिनुपर्ने बताए। ओलीको कुरामा माधव नेपालले गम्भीर असहमति जनाए।

सम्भवतः आफूलाई सचिवालयमा एक्ल्याएको रिस पनि नेपालसँग थियो। ओलीलेले बैठक बस्नुअघि आफूसँग सोध्न भनेको विषयमा नेपालले असहमति जनाएका थिए। नेकपा स्रोतका अनुसार यो बैठकमा नेपाल र ओलीबीच बाझाबाझ नै परेको थियो।

ओली सिंगापुर गएलगत्तै यता प्रचण्डले सचिवालयको बैठक बोलाए। पहिले माओवादीमा रहँदा अधिकारसम्पन्न कार्यकारी अध्यक्ष रहेका र नीतिगत रुपमै अधिकारसम्पन्न कार्यकारी प्रमुखका पक्षधर प्रचण्डले यो बैठकमा धेरै नीतिगत निर्णयहरु गरिदिए जसले ओलीलाई झस्कायो।

ओली पार्टीमा पनि आफ्नो पकड बलियो राखिराख्न चाहन्थे तर प्रचण्डले एकाएक ठूला निर्णयहरु गरिदिँदा पार्टीमा प्रचण्ड हामी हुने आशंकाले ओलीले अर्को पासा फाले।

नेकपाको विधानअनुसार सचिवालय बैठकमा महासचिव अनिवार्य उपस्थित हुनुपर्छ। आफू सिंगापुर भएका बेला यता प्रचण्डले धमाधम ठूला निर्णयहरु गर्न थालेपछि ओलीले महासचिव विष्णु पौडेललाई नै सिंगापुर बोलाइदिए।

त्यतिबेला पौडेलसँग बामदेव गौतम पनि सिंगापुर गएका थिए। बाहिर भन्दा जे भनिए पनि पौडेल र गौतमलाई एकाएक सिंगापुर बोलाइनुको चुरो कुरो सचिवालय बैठक बस्न नदिनु भएको नेकपा स्रोत बताउँछ।

ओलीले एकाएक महासचिवलाई बोलाइदिएर सचिवालय बैठकमै बाधा सिर्जना गरिदिएपछि ओलीसँग प्रचण्डसमेत सशंकित भएका छन्। प्रचण्डले पछिल्ला समय दिने अभिव्यक्तिहरुमा समेत ओलीप्रतिको असन्तुष्टि देख्न सकिन्छ।

महासचिव पौडेलसँगै सिंगापुर बोलाइएका बामदेव गौतमलाई समेत ओलीले उपाध्यक्ष बनाउने आश्वासन दिएको बताइन्छ। सांसद बन्ने उत्कट इच्छा पालेका गौतमलाई सांसद बनाउने प्रयास सफल नभएपछि ओलीले उनलाई आफूसँगै राख्न उपाध्यक्ष दिने पासा फालेको बताइन्छ। ओलीले गौतमलाई उपाध्यक्ष बनाउने पासा त फाले तर उपाध्यक्ष बनाएका भने छैनन् जसबाट गौतम पनि असन्तुष्ट छन्।

पछिल्लो समय नेकपाभित्र तीव्र असन्तुष्टि छ र यसलाई व्यवस्थापन गर्न सचिवालय बैठक बोलाउनै पर्ने अवस्था छ। तर, ओलीको सामु प्रचण्ड, नेपाल र गौतमको चुनौती छ। यी नेताहरुलाई ओलीले आश्वासन त दिएका छन् तर कार्यान्वयन गर्न सकेका छैनन्। आइपर्ने चुनौती व्यवस्थापन गर्नको लागि पासा फालेका ओली अहिले आफ्नै आश्वासनका कारण अप्ठेरोमा छन्।

यी नेताहरुले कार्यान्वयन नहुने आश्वासन मात्र दिइने सचिवालय बैठक किन बस्ने ? भनेर प्रश्न उठाएमा ओली अप्ठेरोमा पर्ने निश्चित छ। अहिले प्रचण्ड, माधव नेपाल र बामदेव गौतम नै ओलीको साथमा छैनन्। यो स्थितिमा ओलीको पार्टीभित्र पकड कमजोर भइसकेको छ। यी नेताहरुलाई व्यवस्थापन गर्न नसक्ने हो भने ओली पार्टीमा कमजोर हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *