दलालबाट ठगिएर दिल्लीमा अलपत्र नेपालीलाई भारतीय सेनाका नेपालीले गरे उद्धार

डिसी नेपाल
१४ कार्तिक २०७६ १६:४२

दिल्ली । दिलकुमार दर्जी जसोतसो सामान्य मजदुरी गरेर आफ्नो दिनचर्या बिताइरहेका थिए । दमक ९ झापा घर भएका उनी आफ्नो परिवारसँग खुसी थिए ।
एक दिन उनलाई गाउँकै एकजनाले विदेशमा राम्रो पैसा कमाइन्छ भन्ने प्रलोभन देखाए । घरकोे आर्थिक अवस्था कमजोर भएका उनले विदेश हिँड्ने सोंच बनाए । उनलाई गाउँकै एकजना विकास लामघाते नाम गरेका एजेण्डले कतार पठाइदिने आश्वसान दिए । उनको मनमा खुसी पलायो । गाउँकै एजेण्टले विदेश पठाइदिन्छु भनेपछि दिलकुमारले पनि एजेण्टको विश्वास गरे ।

एजेन्टले भनेअनुसार उनले एजेण्टलाई ५० हजार पैसा पनि बुझाए । पछि एजेन्टले उनलाई एकजना व्यक्तिको सम्पर्क नम्बर दिएर काठमाडौं पठाए । उनी पनि कतार गएर पैसा कमाउने आश बोकेर काठमाडौँ आए । काठमाडौँ आएर एजेन्टले भनेको व्यक्तिलाई भेटे । ती व्यक्तिले उनलाई कतार जान उमेर धेरै भएको र भारतको चेन्नईमा पनि राम्रो आम्दानी हुने भन्दै चेन्नई जान सुझाए।

उनी पनि आम्दानी राम्रो हुने भनेपछि चेन्नई जान राजी भए । अर्को दिन ती व्यक्तिले उनलाई भारत जाने गाडी चढाए । उनी पनि पैसा कमाउने सपना बोकेर गाडी चढे । तर, उनलाई चेन्नई जाने भनी चढाइएको गाडि चेन्नईको नभई दिल्लीको रहेछ । उनी दिल्ली त पुगे तर दिल्लीबाट कता जाने अत्तोपत्तो भएन । ती व्यक्तिले गन्तव्यमा पुगेपछि फोन गर्नु भनेर दिएको नम्बरका व्यक्ति पनि सम्पर्कमा आएनन्।

ती व्यक्ति सम्पर्कमा नआएपछि उनी ४ दिनसम्म दिल्लीको मज्नुका टीला भन्ने ठाउँमा सहयोग माग्दै रुँदै हिँडिरहेका थिए । उनलाई रुँदै हिँडेको अवस्थामा भारतीय सेनामा कार्यरत नेपाली युवा आराम गुरुङले भेटाएपछि उनको उद्धार गरे ।

उनलाई गन्तव्यमा पुगेपछि फोन गर्नु भनेर दिइएको नम्बर भारतको नोएडाका व्यक्तिको भएको बुझिएको छ । गुरुङले ती व्यक्तिलाई सम्पर्क गर्दा उनले आफूले हेल्परका लागि ३५ ३६ वर्षको उमेरका मानिस मगाएको तर दिलकुमारको उमेर धेरै भएको बताए । उनले दिलकुमारलाई नेपाल फर्काउन आग्रह गरे ।
यती मात्रै नभएर उनले काठमाडौंमा एकजनासँग सहकार्य गरेर कामदार मगाउने गरेको बताए । त्यसबापत उनले ती व्यक्तिलाई १ जनाको १ हजार दिने गरेको बताए । तर, नेपालमा उनले कामदारबाट पैसा उठाउने गरेको भने आफूलाई जानकारी नभएको बताए।

अहिले दिलकुमारलाई भारतीय सेना गुरुङ, डिसी नेपालका सहकर्मी भरत पौडेल, सुवास बस्नेत र सालिमे रेसुंगा टुर एण्ड ट्राभल्सको सहयोगमा घर पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *