बालबालिकामा दोहोरिने टन्सिलले मुटुको भल्भ बिग्रिन सक्छ: मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी
काठमाडौं। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक-पटक हुने टन्सिलको सङ्क्रमणको समयमै उचित उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।
उहाँका अनुसार विशेषगरी ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा टन्सिलाइटिस (टन्सिलको सङ्क्रमण) को समस्या बढी देखिन्छ।
‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाका कारण घाँटीमा सङ्क्रमण भएर टन्सिल बढ्ने तथा पाक्ने समस्या देखिन सक्ने भन्दै उहाँले समयमै चिकित्सककहाँ गएर उपचार गराउनुपर्नेमा जोड दिए।
“टन्सिल पाक्ने रोग अर्थात् टन्सिलाइटिस वा घाँटीमा इन्फेक्सन हुने समस्या जुन छ, त्यो एक प्रकारको ब्याक्टेरिया ‘स्ट्रेप्टोकोकस’का कारण हुन्छ। त्यसले घाँटीमा इन्फेक्सन गरायो, टन्सिल बढ्यो र पाक्यो भने त्यस्तो बेलामा उपचार गरिएन, केवल नुनपानी, बेसारपानी वा सिटामोलमा मात्र भर परियो भने समस्या झनै बल्झिरहन सक्छ,” डा. रेग्मीले भने।
पटक-पटक टन्सिलको सङ्क्रमण भइरहेमा त्यसको असर मुटुसम्म पुगेर भल्भ बिग्रिने समस्या देखिन सक्ने र यसैलाई ‘बाथ मुटुको रोग’ (र्युमेटिक हार्ट डिजिज) भनिने डा. रेग्मीले बताए।
नेपालमा बाथ मुटुको रोग ठूलो जनस्वास्थ्य समस्याका रूपमा रहेको उल्लेख गर्दै उहाँले यसबारे अझै जनचेतनाको कमी रहेको बताए। टन्सिलको सङ्क्रमण हुँदा घरमै घरेलु उपचार वा सिटामोल मात्र खाएर बस्न नहुने उहाँको भनाइ छ।
“घाँटीको टन्सिल पाक्दा उपचार गरिएन भने पछि मुटुको रोग लाग्न सक्छ। त्यसैले एन्टिबायोटिकमार्फत यसको सही उपचार गर्नुपर्छ र तुरुन्त चिकित्सककहाँ जानुपर्छ,” उहाँले सुझाव दिए। घाँटी दुख्ने, टन्सिल बढ्ने, पाक्ने र ज्वरो आउनेजस्ता लक्षण देखिएमा बालबालिकालाई विशेष सावधानीका साथ उपचार गराउनुपर्ने उहाँले बताए।
डा. रेग्मीका अनुसार टन्सिलको सङ्क्रमणपछि बाथ मुटुको रोग सिधै मुटुमा पुग्दैन। सुरुमा यसले जोर्नीहरूमा असर गर्छ र त्यसपछि मात्र मुटुमा समस्या निम्त्याउँछ।
“मुटुमा जानुभन्दा अगाडि असर जोर्नीमा जान्छ। जोर्नीहरू दुख्ने र सुन्निने हुन्छ, जसलाई हामी बाथ ज्वरो (र्युमेटिक फिभर) भन्छौँ,” उहाँले भने, “स्कुल जाने उमेरका बालबालिकालाई घाँटी दुख्ने र त्यसको केही समयपछि जोर्नीहरू दुख्ने, सुन्निने वा ज्वरो आउने अवस्था देखियो भने तुरुन्त सतर्क हुनुपर्छ।”
जोर्नी दुखेका कारण कतिपय बालबालिकालाई अभिभावकले हाडजोर्नी विशेषज्ञ (अर्थोपेडिक) कहाँ लैजाने गरेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा मुटुको समेत अनिवार्य परीक्षण गराउनुपर्ने बताए।
“धेरैजसो जोर्नी दुख्यो भनेर बालबालिकाहरू अर्थोपेडिकमा जाने गरेको देखिन्छ। त्यहाँ हाडजोर्नीको मात्र उपचार गराउँदा पछि मुटु धेरै बिग्रिसकेको हुन सक्छ। त्यसैले स्कुल जाने उमेरका बालबालिकाको जोर्नी दुख्ने समस्या भयो भने एकपटक मुटु पनि जचाउनुपर्छ,” डा. रेग्मीले भने।
समयमै रोग पहिचान गर्न सके मुटुलाई पूर्ण रूपमा जोगाउन सकिने उहाँको भनाइ छ। तर एकपटक मुटुको भल्भ बिग्रिएपछि त्यसलाई पुनः सामान्य अवस्थामा फर्काउन कठिन हुने र गम्भीर अवस्थामा भल्भ नै फेर्नुपर्ने स्थिति आउन सक्छ।
उनका अनुसार २० वर्षभन्दा कम उमेरका बालबालिका तथा युवाहरूमा टन्सिलको सङ्क्रमणपछि बाथ मुटुको रोग हुने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ भने २० वर्षभन्दा माथिको उमेरमा यस्तो समस्या हुने जोखिम कम रहन्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment