ओलीलाई प्रचण्डको सन्देश : उधारो सम्झौता हुँदैन

डिसी नेपाल
२० कार्तिक २०७६ ७:०८

काठमाडौं। सत्तारुढ दल नेकपाले तत्काल नयाँ सभामुखबारे निर्णय गरिहाल्नुपर्ने वाध्यता छ। सम्भवत संसदको अधिवेशन बोलाउँदै गर्दा नेकपाले यो विषयमा निर्णय लिनेछ। तर, यो विषयमा निर्णय गरिहाल्न नेकपामा भने समस्यै समस्या छन्।

नेकपा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी भएकाले यस भित्र हुने निर्णयमा पनि तत्काली पार्टीलाई भागबण्डा गरेर हुने गरेका छन्। पार्टीका अध्यक्ष नै दुईजना भएकाले भागबण्डा बिना एउटा अध्यक्षले एकलौटी निर्णय गर्न सक्ने अवस्था दुबै अध्यक्षसँग नरहेको प्रदेश प्रमुृख नियुक्तलाई बलियो उदाहरणका रुपमा बुझ्न सकिन्छ।

प्रधानमन्त्री तथा पार्टीका एक अध्यक्ष केपी ओली आइतबार नै प्रदेश प्रमुख सिफारिस गर्ने तयारीमा थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भाग र नाम त्यो दिन दिन नसकेपछि मन्त्रिपरिषद बैठक नै आइतबार स्थगित भएर सोमबार बस्यो।

प्रदेश प्रमुखमा तत्कालीन एमाले र तत्कालीन माओवादीले बाँडेर लिए। ७ मध्ये ४ तत्कालीन एमाले तथा ३ जना तत्कालीन माओवादीबाट सिफारिस गरिए।
अब सभामुखबारे निर्णय गर्दा पनि दुई अध्यक्षबीच भिग एण्ड टेकका आधारमा निर्णय हुने प्रचण्ड निकट उच्च स्रोतले बतायो।

‘विगतमा जस्तो उधारो सम्झौता गरेर सभामुख पद पूर्व एमालेलाई दिने पक्षमा अध्यक्ष कमरेड हुनुहुन्न,’ पूर्व माओवादीबाटै सभामुख उठाउने अवस्थामा प्रचण्डको रोजाइमा पूर्वसभामुख ओनसरी घर्ती पर्ने निश्चित छ।’

कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा जेल चलान भएपछि भावी सभामुख को हुने भन्ने विषयले नेकपाभित्र चर्चा पाएको छ। प्रधानमन्त्री केपी ओली वर्तमान उपसभामुखलाई राजीनामा गराएर पूर्व एमालेबाटै सभामुख बनाउन चाहन्छन्। ओलीले पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको चर्चा चलेको छ।

नेम्वाङको नामप्रति प्रचण्डको पनि असन्तुष्टि छैन। तर ओलीसँग बारम्बार उधारो सम्झौता गर्दै आएका प्रचण्ड यो पटक भने ओलीसँग उधारो सम्झौता नगर्ने तयारीमा रहेको प्रचण्ड निकट एक नेताले जनाए।

मंसिर १४ गते हुने उपनिर्वाचन अगाडि संसदको हिउँदे अधिवेशन नबोलाउने र त्यो बीचमा सभामुख बनाउने व्यक्ति तय गर्ने नेकपाले तयारी गरेको छ। यसअघि पूर्व माओवादीबाट सभामुख र पूर्व एमालेबाट उपसभामुख निर्वाचित भएका थिए।

पूर्व माओवादी खेमाले सभामुख पूर्व माओवादीबाटै हुनुपर्ने बताइरहेका छन्। यदि पूर्व एमालेलाई सभामुख दिने हो भने आफूसँग हातहात सम्झौता गर्नुपर्ने प्रचण्डले ओलीलाई सन्देश दिएका छन्। प्रचण्डले पार्टी एकता हुँदा आफूसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने अडान राख्ने स्रोतले जनाएको छ।

विगतका सहमति कार्यान्वयन नहुने हो भने सभामुख पूर्व माओवादीले नछोड्ने सन्देश प्रचण्डले ओलीलाई संकेत गरिसकेको एक नेताले जनाए। ‘विगतमा जस्तो उधारो सम्झौता गरेर सभामुख पद पूर्व एमालेलाई दिने पक्षमा अध्यक्ष कमरेड हुनुहुन्न,’ प्रचण्ड निटक एक नेताले डिसी नेपालसँग भने, ‘पूर्व माओवादीबाटै सभामुख उठाउने अवस्थामा प्रचण्डको रोजाइमा पूर्वसभामुख ओनसरी घर्ती पर्ने निश्चित छ।’

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार नेकपाले सभामुख पद आफूसँग राख्न उपसभामुख गुमाउनुपर्ने हुन्छ। अहिले उपसभामुख नेकपाबाटै भएकाले उपसभामुखलाई राजीनामा गर्न लगाएर सभामुखमा नेकपाको उम्मेद्वार उठाउने तयारी भएपनि प्रचण्डले उधारो सम्झौता नगर्ने अडान लिँदा नेकपाबाट को सभामुख बन्छ भन्ने सवत्र चासोको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *