टी–ट्वान्टी वरियता : टिमको यथावत, खेलाडीको खस्कियो

डिसी नेपाल
२५ कार्तिक २०७६ १७:५१

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सोमबार जारी गरेको नयाँ टी–ट्वान्टी वरियतामा नेपालको वरियता यथावत रहेकाे छ। १२ औं स्थानमा छ । अघिल्लो हप्ता पनि नेपाल १२ औं स्थानमै थियो।

नेपालको सबैभन्दा राम्रो वरियता भने यो होइन। नेपाल एक पटक ११ औं वरियतामा थियो। तर, त्यसपछि खस्किएर १३ औं स्थानमा पुगेको थियो।

सोमबार जारी वरियतामा नेपालको रेटिंग १८९ हुँदा १३ औं स्थानको स्कटल्याण्डको रेटिंग १८७ छ। मात्र दुई रेटिंगले नेपालले स्कटल्याण्डलाई उछिनेको हो।

टी ट्वान्टी वरियताको एक नम्बरमा पाकिस्तान यथावत छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ। तेस्रो स्थानमा न्यूजिल्याण्ड हुँदा चौथो स्थानमा दक्षिण अफ्रिका र पाँचौं स्थानमा भारत छ।

टिमको वरियता सुधारिँदा खेलाडीको वरियता भने खस्केको छ।र टी ट्वान्टी क्रिकेटको खेलाडी वरियतामा नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछानेको वरियता खस्किएको छ।

आईसीसीले अपडेट गरेको ब्याटिङको नयाँ वरियतामा पारस घटेर ५५ औं स्थानमा झरेका छन्। यसअघि पारस ब्याटिङतर्फ ४५ औं स्थानमा रहेका थिए।

यस्तै पारसको अलराउण्डर वरियता समेत घटेको छ। अलराउण्डरमा पारस ३२ औं स्थानमा झरेका छन्। यसअघि पारस २४ औं स्थानमा रहेका थिए।

अलराउण्डरमा नेपालका अर्का खेलाडी सोमपाल कामी ६७ र करण केसी ८८ औं स्थानमा रहेका छन्। दुवैको वरियता घटेको हो। यसअघि सोमपाल ६२ औं र करण ८२ औं स्थानमा रहेका थिए।

बलिङतर्फ सन्दीप ६९ औं स्थानमा झरेका छन्। अघिल्लो पटक सन्दीप ६४ औं स्थानमा रहेका थिए।

बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण १०० औं स्थानमा रहेका छन्। बलिङमा दुवैको वरियता घटेको हो। यसअघि सोमपालको वरियता ६८ र करणको ८३ रहेको थियो।

बलिङमा नेपालका बसन्त रेग्मी र अविनाश बोहरा भने शीर्ष १०० बाट बाहिरिएका छन्। अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश १०० औं स्थानमा रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *