समाजवादी पार्टीको निष्कर्ष : एकताका लागि सरकारबाट बाहिरिनु पर्ने राजपाको शर्त ‘शंकास्पद’

डिसी नेपाल
२ मंसिर २०७६ ८:०३

काठमाडौं। समाज विचार र उद्देश्य भएका समाजवादी पार्टी र राजपाबीच एकताको पहल भइरहको छ। दुवै पार्टीले एकताका लागि भन्दै वार्ता टोली गठन गरेका छन्। वार्ता टोलीबीच केही चरण औपचारिक/अनौपचारिक वार्तासमेत भइसकेका छन्। समाज विचार र उद्देश्य भएका कारण सैद्धान्तिक विषयमा धेरै विवाद छैन।

यी दुई पार्टीबीच एकता हुँदा मुख्य रुपमा नेतृत्व व्यवस्थापनको मुद्दा जटिल बन्दै गएको छ। त्यो भन्दा पनि अर्को विषयले समाजवादी पार्टी राजपादेखि सशंकित बन्दै गएको छ। राजपाले समाजवादी पार्टीसँग एकताका लागि मुख्य रुपमा सरकारबाट बाहिरिनु पर्ने शर्त राखेको छ। सुरुमा सो शर्तप्रति समाजवादी पार्टी सकारात्मक थियो।

समाजवादी पार्टीले सुरुमा एकता गर्ने र एकीकृत पार्टीले गर्ने निर्णयका आधारमा सरकारमा बस्ने वा बाहिरिने भन्ने निष्कर्ष निकाल्ने प्रस्ताव राखेको थियो। तर राजपाले एकतका लागि सरकारबाट बाहिरिनुपर्ने पहिलो शर्त राखेपछि समाजवादी पार्टी सशंकित बनेको हो। यो विषयमा केही दिन अगाडि बढेको समाजवादी पार्टीको संघीय परिषद बैठकमा समेत छलफल भएको थियो।

बैठकमा सरकारबाट बाहिरिनु पर्ने विषयमा पार्टी कार्यकर्ता र विशेष गरी बाबुरा भट्टराई पक्षधरबाट दवाब आएपछि यो विषयमा उपेन्दं यादवले आफ्नो विश्लेषण सुनाएको एक नेताले जानकारी दिए। ती नेताका अनुसार बैठकमा उपेन्द्र यादवले राजपासँग भएको वार्ताका प्रगतिबारे जानकारी गराएका थिए। केही चरणमा औपचारिक/अनौपचारिक रुपमा वार्ता भएको र राजपाले सरकारबाट बाहिरिनुपर्ने मागलाई मुख्य विषय बनाएको जानकारी गराएका थिए।

समाजवादी पार्टीले नेकपाले नै केन्द्रको सरकारबाट आफूहरु बाहिरिउन भन्ने चाहेको र आफूहरुको ठाउँमा राजपालाई ल्याउने र त्यही योजना अनुसार दुई नम्बर प्रदेशमा पनि नेकपा र राजपा सम्मिलित सरकार गठन गर्ने योजना अनुसार राजपाले एकताका लागि सरकारबाट बाहिरिनु पर्ने मुख्य शर्त राखेको निष्कर्ष निकालेको छ।

‘आफूहरुले सुरुमा पार्टी एकता गरौं र त्यसपछि पार्टीले गर्ने निर्णयका आधारमा सरकारमा बस्न वा बाहिरिने भन्ने विषय स्पष्ट हुन्छ भन्ने प्रस्ताव राख्दासमेत राजपाले एकताको शर्तको रुपमा सरकार छाड्ने प्रस्ताव राख्यो,’ बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सरकारबाट तत्काल बाहिरिनु पर्ने विषयलाई राजपाले किन यसरी मुद्दा बनायो यो विषय शंकास्पद छ।’

समाजवादी पार्टीले राजपाको उक्त मागलाई आफूलाई सरकारबाट बाहिर निकालेर राजपा सरकारमा सहाभागी हुने र दुई नम्बर प्रदेशमासमेत नेकपा र साजपा मिलेर सरकार बनाउने चालका रुपमा लिएको छ। अहिले दुई नम्बर प्रदेशमा समाजवादी पार्टीको नेतृत्वमा राजपा सम्मिलित सरकार छ।

उक्त बैठकमा उपेन्द्र यादवले राजपाका शीर्ष नेताहरु आफूहरु भन्दा धेरै समय सरकारमा बसेका रहेको उल्लेख गर्दै उनीहरुले नै सरकारबाट बाहिरिनु पर्ने शर्त राख्नुको कारण आफूहरुलाई सरकारबाट बाहिर निकालेर राजपाका नेताहरु सरकारमा सहाभागी हुने चालका रुपमा व्याख्या गरेको एक नेताले जानकारी दिए।

‘राजपाले पार्टी एकता गर्न नै चाहेको भए सरकारबाट बाहिरिने विषयलाई मुख्य शर्त बनाउँदैन थियो,’ समाजवादी पार्टीका एक नेताले डिसी नेपालसँग भने, ‘हामीले एकतापछि पार्टीले गर्ने निर्णयका आधारमा सरकारमा बस्ने वा बाहिरिने विषयको टुंगो लगाउने प्रस्ताव गर्दासमेत राजपा मानेन।’

समाजवादी पार्टीले सत्तारुढ दल नेकपाले नै केन्द्रको सरकारबाट आफूहरु बाहिरिउन भन्ने चाहेको र आफूहरुको ठाउँमा राजपालाई ल्याउने र त्यही योजना अनुसार दुई नम्बर प्रदेशमा पनि नेकपा र राजपा सम्मिलित सरकार गठन गर्ने योजना अनुसार राजपाले एकताका लागि सरकारबाट बाहिरिनु पर्ने मुख्य शर्त राखेको निष्कर्ष निकालेको छ। सरकारबाट बाहिरिने शर्तलाई स्वीकार गरेर पार्टी एकता नगर्ने निष्कर्ष समाजवादी पार्टीले निकालेको एक नेताले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *