असई चौधरीविरुद्ध मुद्दा दायर

डिसी नेपाल
२ मंसिर २०७६ २०:३८

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप छ । सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले चौधरीलाई रु १३ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।

यस्तै मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०÷७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको आरोपमा तत्कालीन फाँटवाला मनदकुमार गुप्ताविरुद्ध आयोगले आरोपपत्र दायर गरेको छ । समयमै राजस्व दाखिला नगरी हिनामिना गरेको आरोपमा रु ७७ लाख ८६ हजार बिगो माग दाबी गरिएको छ ।

यसैगरी गोरखापत्र संस्थानका उपसम्पादक (तह–७) पदमा कार्यरत वासुदेव पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाइ सेवा प्रवेश गरेको तथा बढुवासमेत भएको आरोपमा आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको छ । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको नक्कली प्रमाणपत्र पेश गरी संस्थानमा सेवा प्रवेश तथा स्तरवृद्धि गरेको आयोगको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *