मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

डिसी नेपाल
३० असार २०८३ १७:५५

मुगु। सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ५ नेरघाटमा बेलीब्रिज निर्माण भएपछि कर्णाली करिडोरमा जोडिएको छ।

योसँगै बर्षौदेखि तुईन र झोलुङ्गे पुलमार्फत आवातजावत गर्दै आएका स्थानीयबासी बेलिब्रिजको सुविधा उपभोग गर्न पाएका हुन्।

जसका कारण गाउँमा उत्पादित स्थानीय रैथाने बालीहरूले बजार पाउने साथै आयस्रोत बढ्ने भएकाले स्थानीयबासी खुशी समेत भएका छन्।

पूर्वाधार विकास कार्यालय मुगुले २०८१ साल असार ४ गते ४ करोड ९४ लाखमा ६० मिटर लम्बाई रहेको पुल ठेक्का आह्वान गरिएको नेरघाट बेलीब्रिज पुल २०८३ असार मसान्तमा सम्पन्न भएको हो।

अब नेर र ताजा गाउँका १५ सय भन्दा बढी नागरिकहरूले पुलबाट दैनिक आवतजावत गर्न पाउनेछन्।

पहिला पुल नहुँदा बाबियो (घाँस) को तुइन प्रयोग गर्ने गरिएको र त्यसपछि झोलुङ्गे पुल प्रयोग हुँदै आएको थियो। तर अब बेलीब्रिजले सहज बनाएको स्थानीयको भनाइ छ। अब मानिसदेखि पशु चौपाय ओहोरदोहोर गराउन पनि सहज भएको स्थानीय विरुपक्ष शाहीले बताए।

बजार पाउनुका साथै स्थानीय नागरिकको आयआर्जनमा पनि यो पुलले सुधार ल्याउने सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए।

रिडार्क नेपाल प्रालि ललितपुर निर्माण कम्पनीले ठेक्का पाएको उक्त पुल हुम्ला कर्णाली नदी तर्फ पानीको बहाव बढी भएको, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण निर्माण कार्य केही ढिला भएको थियो।

पुलबाट मुगुको नेर र ताजा बस्तीका १५ सय भन्दा बढी नागरिकहरूले दैनिक लाभ लिनुका साथै हुम्लाबासीले पनि सेवा लिनसक्ने पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *