चितवनको देवघाट धाममा शतबीज छर्नेको घुइँचो

डिसी नेपाल
९ मंसिर २०७६ १०:३९

भरतपुर । पवित्र तीर्थस्थल देवघाट धाममा शतबीज छर्नेको घुइँचो लागेको छ । रातभर सो क्षेत्रमा जाग्राम बसेर तीर्थालुले दीपप्रज्वलन गरी आज शतबीज छरेका हुन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । समितिले टेण्ट र त्रिपाल लगाएको भए पनि ती स्थानमा नअटेपछि भक्तजनले खुल्ला आकासमुनि जाग्राम बसी दीपप्रज्वलन गरेका थिए।

रातिदेखि बस्ने र बिहानै देवघाट पुग्नेको भीड लागेको छ । सडक र ढलानबाहेकका स्थानमा शतबीज छर्न समितिले आग्रह गरेको छ।

आज बालाचर्तुदशी पर्व, शतबीज छरेर मनाइँदै छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।

शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ।

बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *