पृथ्वीनारायण सङ्ग्रहालय निर्माण शुरु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ।
विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गरेका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।
उनका अनुसार सात रोपनी जग्गामा रु पाँच करोड २८ लाख लगानीमा निर्माण थालिएको सङ्ग्रहालय दुई वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय चारतलाको हुने छ जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिने छ।
भवन विभागमार्फत काम थालिएको र पुरातत्व विभागसँग सम्बन्धित नभए पनि काम सम्पन्न भएपछि समन्वय गरेर नुवाकोटसहित मुलुकभरमा रहेका शाहसँग जोडिएका र उनले प्रयोग गरेका तोप र हातहतियार, उनले दिएको दिव्योपदेशलगायतलाई सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment