‘उसले सेक्सको क्रममा घाँटी रेटेर मेरी बहिनीलाई मार्यो, दुर्घटना भनेर सजायबाट बच्यो’

डिसी नेपाल
१० मंसिर २०७६ १४:३०

एजेन्सी। कारा हट्सनका आँखा आँसुले भरिन्छन् जब उनले उनकी २१ वर्षकी बहिनीले आफ्नो जीवनको अन्तिम पल कसरी बिताइन् भन्ने कल्पना गर्छिन् । एक बच्चाकी आमा रहेकी उनी विस्तारै रगत बग्दै जाँदा मृत्युको मुखमा पुगेकी थिइन् जब सेक्सको क्रममा जेसन गास्केलले उनको घाँटी काटिदिएका थिए ।

पछि जेसनले यो ‘सेक्सको खेल’ भएको र त्यसमा दुर्घटना हुँदा उनको ज्यान गएको दावी गरेका थिए । अदालतले पनि जेसनलाई ‘हत्यारा’ नभइ ‘म्यानस्लटर’ ठहर गरेको थियो । म्यानस्लटर भन्नाले हत्या गर्ने नियत नभएको तर झुक्किएर मारिएको भन्ने बुझिन्छ । त्यहाँको कानुनमा यसलाई हत्याभन्दा निकै कम श्रेणीको अपराध मानिन्छ ।

उनका आरोपीले पनि त्यस्तै दावी गरेका थिए जस्तो दावी हालै न्यूजिल्याण्डमा शुक्रबार ग्रेस मिलानेको हत्यामा ‘हत्यारा’ ठहर भएका २७ वर्षका आरोपीले गरेका थिए । उनी बेलायतका ती ५९ महिलामध्येकी एक हुन् जसका हत्याराले मृत्युको कारण रफ सेक्सको क्रममा भएको दुर्घटना बताएका थिए ।

यो सेक्सका क्रममा हत्या गर्नेहरुले आफ्नो बचाउको लागि प्रयोग गर्ने यस्तो दावी हो जुन बेलायती अदालतमा दिन प्रतिदिन बढिरहेको छ । जसको नतिजा ती पुरुषहरु ‘हत्यारा’ नभइ ‘म्यानस्लटर’ ठहर गरिन्छन् । अभियन्ताहरु र पीडित महिलाका परिवारहरुले मृतक महिलाको यौनिक इतिहासलाई उनीहरुकै विरुद्ध प्रयोग गरिएको भन्दै आरोपीहरुको विरोध गरिरहेका छन् ।

हल विश्वविद्यालयमा स्वास्थ्य र समाजशास्त्रकी विद्यार्थी रहेकी २५ वर्षकी काराले दावी गरिन् कि उनकी बहिनीका हत्याराले जानीजानी सेक्सको क्रममा लाउराको घाँटीमा चक्कु राखेका थिए । जसका कारण चक्कुले उनका केही नशाहरु काटिदियो र उनी अत्याधिक रक्तस्रावका कारण मारिइन् । बेलायती मिडिया द सन अनलाइनसँग कुरा गर्दै उनले भनिन् ‘ग्रेसको हत्याको विषयमा भएको फैसलाले देखाउँछ कि उनीहरु (न्यूजिल्याण्डका नागरिक) यो अपराधलाई धेरै गम्भीरताका साथ लिइरहेका छन् । मलाई हामीजस्तै परिवारलाई देख्दा दुःख लाग्छ जसले यो सहनुपरेको छ ।’

उनले अगाडि भनिन् ‘मेरी बहिनीलाई अरु कोहीले भन्दा मैले धेरै बुझेकी थिएँ र उनले यो सब पक्कै चाहेकी थिइनन् । यो कुरामा उनका पूर्वप्रेमी पनि सहमत छन् । यी पुरुषहरु जसले आफ्नो बचाउको लागि रफ सेक्सको बहाना प्रयोग गर्छन्, उनीहरु झुट बोलिरहेका छन् र यहाँ कोही छैनन् जसले उनीहरुलाई गलत प्रमाणित गर्न सकुन् ।’ दुःखद कुरा, लाउराका जस्ता केसहरु दुर्लभ होइनन् ।

बेलायती यात्री ग्रेस मिलाने आफ्नो २२ औं जन्मदिनको अघिल्लो रात सेक्सका क्रममा उनका पार्टनरले घाँटी थिचिदिएपछि मारिएकी थिइन् । आरोपीले उनको मृत्युको कारण रफ सेक्सको क्रममा भएको दुर्घटना भनेका थिए । आरोपीले ग्रेस ‘५० शेड्स अफ ग्रे’ फिल्मकी फ्यान रहेको र सेक्सका क्रममा उनले नै आफ्नो घाँटी थिन्त आग्रह गरेको दावी गरेका थिए ।

यो बयान सुन्दा ग्रेसका परिवार निश्चय पनि स्तब्ध भएका थिए र कारा उनीहरुको पीडा बुझ्छिन् । ‘मैले मेरी बहिनी ढोकाबाट आउनुको सट्टा बाकसमा आएको देख्नुपर्यो’ उनी भन्छिन् ‘यी पुरुषहरु जो सेक्सको खेलमा दुर्घटना भएको भनेर बच्न खोज्छन्, उनीहरु झुटो बोलिरहेका छन् । उनीहरुलाई रोकिनुपर्छ ।’

२०१८ को ग्रीष्ममा शेफिल्ड अदालतमा गास्केलको सुनुवाइ चलिरहँदा न्यायाधीशले एक सन्तानकी आमा लाउरा कसरी गास्केलको घरमा गएकी थिइन् भन्ने सुनेका थिए । उनी गास्केललाई चिन्ने साथीहरुसँग उनको घरमा गएकी थिइन् र उनीहरुले साँझ भोड्का पिएर कोकिन लिएपछि छुट्टिएका थिए । त्यसपछि उनीहरुले सेक्स गरे जसको क्रममा गास्केलले हातले लाउराको घाँटी समाएका थिए तर बेलाबेलामा छोडिदिन्थे ।

त्यस रातपछि उनीहरु दुईजना घरबाहिर हिउँ खेलिरहेका देखिएका थिए । त्यसपछि उनीहरुले फेरि सेक्स गरे । अदालतमा बनाइएअनुसार गास्केलले आफ्नो सिरानीमुनि ‘सेक्स गेम’मा प्रयोग गर्नको लागि नियमित रुपमा चक्कु राख्थे र उनले त्यही चक्कु लाउराको घाँटीमा राखेका थिए । उनले दावी गरेअनुसार उनले केही गलत भएको त्यतिबेला मात्र महसुस गरेका थिए जब लाउरा असाधारण तरिकाले छटपटाएकी थिइन् ।

गास्केल तत्कालै घरबाट बाहिर दौडिँदा अर्धनग्न र रगतमा लत्पतिएको अवस्थामा देखिएका थिए । उनले त्यसपछि ९९९ मा फोन गरे र पारामेडिक्स त्यहाँ आएका थिए । गास्केलले पछि पुलिसलाई लाउरा सम्भवतः चक्कुमाथि पल्टिएको वा खसेको हुन सक्ने बताएका थिए । कारालाई थाहा छ यो सबै अर्थहीन हो । ‘लाउरा महिराले मातेकी थिइन् र उसले यसको फाइदा उठायो’ उनले भनिन् ‘उसलाई थाहा थियो चक्कु खतरनाक हतियार हो र उनी कहिल्यै पनि त्यसमाथि पल्टिन सक्दिनन् ।’

अगष्ट २०१८ मा गास्केललाई ६ महिनाको जेल सजाय सुनाइएको थियो । फैसलामा अदालतले गास्केलले उनलाई मार्ने नियत नराखेको तर नियतवश चक्कु घाँटीमा राख्ने त्यसले उनको ज्यान गएको भन्दै उनलाई ‘म्यानस्लाटर’ ठहर गरेको थियो । कारा र उनका परिवार त्यो फितलो सजाय र म्यानस्लाटर ठहर गर्ने फैसलाप्रति असन्तुष्ट थिए । ‘त्यो म्यानस्लाटर थियो भनेर कसरी विश्वास गर्न सकिन्छ ?’ काराले रुख्दै भनिन् ‘त्यो व्यक्तिबाट जो सिरानीमुनि पहिल्यै चक्कु राखेर सुत्छ ।’

गास्केलले हट्सन परिवारसँग माफी माग्ने प्रयास गरेका थिए तर त्यो कुराले कारालाई झनै रिस उठ्छ । उनी भन्छिन् ‘हामी उसको क्षमायाचना स्वीकार गर्दैनौंऊ आफ्नो जीवन बाँच्न र परिवारसँग रहन पाउँछ । उसलाई हत्या आरोपमा जेलमा हालिनुपथ्र्यो ।

उसलाई थाहा थियो कि चक्कु एक खतरनाक हतियार हो र यो सेक्सको एक भाग थियो भन्नु मात्रै सजायबाट उम्किने बहाना थियो । उसले यो प्रमाणित गर्न सक्दैन । त्यहाँ अरु कोही थिएन । तर हामीले लाउरालाई चिनेका छौं र उनले त्यो सबै पक्कै चाहेकी थिइनन् । ऊ बाहिर निस्किँदा सबै डराउनेछन् किनकि उनले फेरि अरु कसैलाई यस्तै गर्नेछ ।’

गास्केललाई लाउराको ‘म्यानस्लाटर’को रुपमा ६ वर्षको जेल सजाय सुनाइएको केही दिनमै गास्केललाई अर्को एक मुद्दामा हल मजिस्ट्रेट कोर्टले १६ हप्ताको जेल सजाय सुनायो । यो अर्को मुद्दा दियो जहाँ गास्केलले लाउरालाई कार्नुभन्दा ११ दिन अगाडि अर्की एक महिलामाथि यस्तै निर्दयी व्यवहार गरेका थिए ।

गास्केलले त्यतिबेला पनि ती महिलालाई सेक्सको क्रममा चक्कु रोप्न खोजेका थिए तर त्यही बेला महिलाका साथीहरु आएपछि उनले छाडेका थिए । त्यतिबेला पनि गास्केलको हातमा चक्कु थियो । ‘उसले पहिले पनि यस्तै गर्ने कोसिस गरेको थियो तर उनी भाग्यमानी थिइन् र बच्न सकिन्’ काराले भनिन् ।

डरलाग्दो रुपमा न्यायाधीशहरुले हत्याको अभियोग लागेकाहरुले बच्न प्रयोग गरिरहेको ‘रफ सेक्स’को बहानालाई स्वीकार गरिरहेका छन् । अर्को डरलाग्दो केसमा जोन ब्रोडहर्स्टलाई उनकी गर्लफ्रेण्ड नताली कोनोल्लीको हत्या अभियोगमा अदालतले म्यानस्लाटर ठहर गर्दै मात्रै ३ वर्ष ८ महिनाको जेल सजाय सुनाएको थियो । यसका पनि उनले मृत्युको कारण रफ सेक्सको क्रममा भएको दुर्घटना भनेका थिए ।

यो केसमा कोनोल्लीको शरीरमा ४० फरक फरक चोटहरु थिए । तीमध्ये योनीमा गम्भीर चोट लागेको, आँखाको छेउको हड्डी भाँचिएको र अनुहारको हड्डी पनि भाँचिएको थियो । उनीहरु दिउँसो ठूलो परिमाणमा अल्कोहल र कोकिनको सेवन गरेर यौनकार्यमा संलग्न भएका थिए । तर, यो केसमा पनि अदालतले रफ सेक्सलाई कारण मान्यो ।

जोनले अदालतमा बताएअनुसार कोलोन्लीले नै चाहेपछि उनले कोलोन्लीलाई जुत्ताले पिटेका थिए । तर उनले कोलोन्लीको टाउकोको चोटमा आफू जिम्मेवार नभएको बताएका थिए । ती चोट कोलोन्ली मदिराको नशामा लडेका कारण लागेको उनले बताएका थिए । यद्यपि उनले कोलोन्लीको अनुहारमा उनी बेहोस भएका बेला ब्लीच स्प्रे गरेको भने स्वीकार गरे । उनले कोलोन्लीको योनीमा लागेको गम्भीर चोटको पनि जिम्मेवारी लिएका थिए ।

यद्यपि आरोपीहरु सधैं सफल हुँदैनन् । रोबर्ट सिम्पसन स्कटलाई स्याली क्याभेण्डरको हत्यारा ठहर गरियो । उनकी १५ वर्षकी गर्लफ्रेण्ड स्यालीसँग जोडदार सेक्सको क्रममा उनको घाँटी थिचेपछि स्यालीको मृत्यु भएको थियो । रोबर्ट अहिले हत्या अभियोगमा आजीवन कारावासको सजाय काटिरहेका छन् । रोबर्टले आफ्नो सजाय घटाउन गरेको अपिल पनि खारेज भएको छ । सम्भवतः रफ सेक्सको आडमा छुट दिने कानुनी सहजता विस्तारै फेरिँदैछ ।

कारा हट्सनले त्यस्तै आशा गरेकी छिन् । उनले बहिनीको मृत्युपछि हल विश्वविद्यालयमा स्वास्थ्य र समाजशास्त्र पढ्ने निर्णय गरिन् ताकि उनी नर्स बनेर मानिसहरुलाई सहयोग गर्न सकुन् । लाउराको छोराको हेरचाह हप्ताभरी उनका पिताले गर्छन् र विकेण्डमा काराको परिवारले गर्छन् । यद्यपि उनीहरुले लाउरालाई धेरै मिस गर्छन् र परिवार अगाडि बढ्न संघर्ष गरिरहेको छ । ‘जब यस्तो किसिमको घटना हुन्छ यसमा एउटा व्यक्ति मात्र मर्दैन’ कारा भन्छिन् ‘यसमा एउटा सिंगो परिवार मर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *