संगीतको कथा : सरोदले सिकाएको सुदर्शनको जीवन

डिसी नेपाल
११ मंसिर २०७६ ७:२६

काठमाडौं । साँझको ५ बजिसकेको थियो। पाटनको साघुँरो बाटो हुँदै उनको घरमा पुग्दा बाटो पारीका अग्ला घरले झ्यालबाट छिर्न खोज्ने सूर्यको प्रकाशलाई रोकिसकेका थिए। वरीपरी भूकम्पले भत्काएर टेको लगाइएका घर। सुनसान वातावरण। भूकम्पले भत्काएका घरहरुका बीचमा एउटा सानो भूकम्प प्रतिरोधात्मक आकर्षक घर। यही घरमा सरोदको मालश्री धुनसँगै खेलिरहेका हुन्छन् सुदर्शन राजोपाध्याय।

उमेरले झण्डै पाँच दशक पुग्नै लागेका सरोदवादक सुदर्शन नेपाल तथा भारतमा उस्ताद यसराजका नामले परिचित छन्। आफ्नो नामबारे सुदर्शन भन्छन्, ‘दक्षिण भारतमा एउटा कार्यक्रममा जाँदा भारतीयहरुले नै मेरो नाम सुदर्शन राजोपाध्याय लामो भयो भनेर उस्ताद यसराज राखिदिएका हुन्।’

सुदर्शन चार दशकदेखि सरोदको धुनसँग खेल्दै आइरहेका छन्। उनले नेपालसहित भारतका विभिन्न ठाउँमा आफ्नो कला प्रदर्शन गरिसकेका छन्। सुदर्शन सरोदको धुनको पर्याय हुन्। उनी भन्छन् ‘सरोदको धुन बजाउन कुनै समय नै चाहिँदैन, फूर्सद हुनेवित्तिकै अहिले पनि अभ्यास गरिरहेकै हुन्छु।’

सानै उमेरदेखि सरोदको धुनसँग खेल्दै आफूलाई यो उचाइसम्म पुर्याएका सुदर्शनले ६ वर्षको कलिलो उमेरदेखि नै वाध्यवादनमा हात हालेका हुन्। तर उनले सुरुमा सरोद बजाउन सिकेका भने होइनन्। उनका कलिला औँलाले सबैभन्दा पहिले तबलाको स्पर्श गरेको थियो।

उनी आफ्नो विगत सम्झिँदै भन्छन्, ‘६ वर्षकै उमेरदेखि मैले बाजा बजाउन सुरु गरेको थिए। तर मैले सुरुमै सरोद बजाउन थालेको भने होइन। मैले ६ वर्षको उमेरमा नै तबला बजाउन सुरु गरेको थिए।’ उनी अगाडि सम्झिँन्छन्, ‘मैले सरोद भन्दा पहिले गीतार बजाउँथे। कलेजका कार्यक्रमहरुका पनि गीतार बजाएर गीत गाउँथे। त्यतीबेला राजनीतिक दलका भातृ संगठनहरुले धेरै कार्यक्रमहरु गर्थे ती कार्यक्रमहरुमा मैले निकै गीतार बजाए। एकदिन बुवाले मलाई घरमा अब म पछि शास्त्रीय संगीतमा ह्रास आउने हो की भनेर चिन्ता व्यक्त गरे।

त्यो कुराले मेरो मुटुमै हान्यो। मलाइ के भयो भयो। त्यसपछि मैले सरोद सिक्न सुरु गरेँ। अहिले मैले बुवाको बिडो समातेर राम्रै भएको छ।’ उनी आफ्नो बुवालाई सम्झिदै भन्छन्, ‘म अहिले जति खुशी छु, मेरो बुवा भइदिएको भए, यो भन्दा चार गुणा बढी खुशी हुनुहुन्थ्यो।’ बुवा रेडियो नेपालमा संगीतज्ञ थिए। उनले रेडियोमा ३० वर्ष काम गरेर अवकाश पाएका थिए।

यसराजका दुईजना छोराछोरी पनि छन्। उनी अब आफ्नो परिवारमा शास्त्रीय संगीतलाई यी दुबैले नै अगाडि जानेमा ढुक्क छन्। उनका अनुसार दुबैले नै सरोद राम्रो बजाउँछन्।

नेपालमा भन्दा भारतमा परिचित

उनी नेपालमा भन्दा भारतमा चर्चित छन्। उनले नेपालमा भन्दा धेरै कार्यक्रम भारतमा गरेका छन्। नेपालमा शास्त्रिय संगीतका कार्यक्रम धेरै नहुने गरेको गुनासो उनको छ। उनी दुखेसो पोख्छन्, ‘नेपालमा शास्त्रीय संगीतका कार्यक्रम थोरै मात्र हुन्छन्। शास्त्रीय संगीतलाई महत्व नै दिइएको छैन। तर, भारतमा यसलाई निकै महत्व दिइएको छ। कार्यक्रमहरु पनि धेरै हुन्छन्।’

उनी यत्तिमै रोकिँदैनन्, ‘मलाइ भारतमा हुने कार्यक्रममा बोलाइरहेका हुन्छन्। त्यही भएर नेपालमा भन्दा पनि भारतमा धेरैले चिन्छन्। तर भारतमा गएर बजाउनुमा म आफूलाई धेरै गर्व गर्छु। किनकी त्यहाँ बजाएको ठिक छ की छैन भनि मूल्यांकन गर्न सक्ने मान्छे छन्।’

अहिले शास्त्रीय संगीतको अध्यापनदेखि मेडीटेसनसम्म

अहिले उनी सरोद वादनको अध्यापनसमेत गराउन थालेका छन्। उनीकहाँ सरोद सिक्न दैनिकजसो ४/५ जना विद्यार्थि आउने गरेका छन्। उनी भन्छन्, ‘अहिले मैले अध्ययन पनि गराइरहेको छु। शास्त्रीय संगीतमा लाग्नेको भविश्य राम्रै छ तर मेहनत धेरै गर्नुपर्छ।’ उनी थप्छन्, ‘सरोद सिक्न लामो समय लाग्छ। यो नियमबद्ध तरिकाले बजाउनु पर्ने भएकाले अति नै गाह्रो छ। यसमा लाग्नेको मन एकचित्त हुनुपर्छ।’

उनले नेपालमा शास्त्रीय संगीतको प्रचारप्रसार गर्ने थोरै व्यक्तिमा आफू पनि रहेको भन्दै खुशी व्यक्त गरे।

उनी पछिल्लो समय सरोदबाट मेडिटेसनसमेत गराउन थालेका छन्। जुन संगीतमा रिदम हुँदैन। शास्त्रीय संगीतको भाषामा त्यसलाई आलाप भनिन्छ। उनले मेडिटेसनका लागि ‘सोल फूल म्युजिक फोर मेडिटेसन’ नामक सीडीसमेत बजारमा ल्याएका छन्। तर त्यो नेपालमा भन्दा पनि इन्डियामा धेरै बिक्री हुने गरेको उनको भनाइ छ।

शास्त्रीय संगीतमा गणतन्त्रपछिको विनाश !

उनले नेपालमा शास्त्रिय संगीतको जगेर्ना भन्दा पनि विनाश भइरहेको चिन्ता व्यक्त गरे। गणतन्त्रपछि झन शास्त्रीय संगीतलाई हेपिएको उनको बुझाइ छ। उनी दुःख पोख्छन्, ‘एउटा दुःखद कुरा के छ भने गणतन्त्रपछि रेडियो नेपालमा शास्त्रिय संगीतको विभागै खारेज गरेको छ। अब त्यहाँको जतिपनि बाजाहरु छ सितार, तबला, सरोद, भाइलेन सबै बाजाहरु भण्डारमा खिया लागेर गइसक्यो होला।’

उनी प्रश्न गर्छन्, गणतन्त्रपछि रेडियो नेपालमा शास्त्रिय संगीतको  विभाग खारेज गर्नुपर्ने कारण के हो?

उनी सरोदवादक मात्र नभएर गायक, रचनाकार तथा संगीतकारसमेत हुन्। उनले दक्षिण भारतमा सन् २०१३ मा त्यहाँको सरकारबाट संगीत मञ्जरी भन्ने अवार्ड पनि पाएका थिए। सन् २०१५ मा गुजरातमा सुरिल साँझको तर्फबाट स्वर्णपत्र प्राप्त गरेका छन्। त्यस्तै उनले २०१९ मा मात्रै ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ बाट सम्मानित भएका थिए।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *