राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

डिसी नेपाल
१३ वैशाख २०८१ १३:२४

काठमाडौं। चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्न आवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित भएको मिति बैशाख १२ गतेदेखि २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ।

बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने जनाएको छ । साथै विशेष चलचित्रका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने छ ।

त्यस्तै आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका लागि २०८० वैशाख १ गते देखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरू राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन् ।

तर, आदिवासी जनजाति तथा मातृभाषाका चलचित्रहरु विधागत रुपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन् । विधागत रुपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने बोर्डले जनाएको छ ।

साथै आवेदनसँग सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन आग्रह गरको छ ।

बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा आदिवासी जनजाति तथा मातृभाषी चलचित्र पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन बोर्डबाट उपलब्ध हुने आवेदन फाराम पूर्णरूपमा भरी पेश गर्नुपर्ने बताएको छ ।

बोर्डले आवेदन दिँदा ध्यान दिन निम्न बुँदामा जानकारी दिएको छ- 

– आवेदन फाराममा उल्लेख गरिएका विवरण र चलचित्रमा देखिने विधागत नाममा मेल खानु पर्नेछ।

– चलचित्र अवलोकनका लागि अवलोकन पश्चात फिर्ता हुने गरी बोर्डबाट माग गरिएको ढाँचामा चलचित्र उपलब्ध गराउनु पर्नेछ।

– आवेदन दिइने चलचित्र कथानक हुनुपर्नेछ।

– आवेदनसाथ बोर्डबाट उपलब्ध गराईएको ढाँचामा मञ्जुरीनामा समेत संलग्न गरी पेश गर्नुपर्नेछ ।

– विशेष चलचित्रको हकमा चलचित्रको संक्षिप्त कथासार पेश गर्नुपर्नेछ ।

– सहभागिता सम्बन्धी अन्य शर्तहरु आवेदन फाराममा उल्लेख भए बमोजिम हुनेछन् ।

– सहभागिता सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ ।

– यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

– यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

–  आवेदन फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी  प्राप्त गर्न सकिनेछ ।
– आवेदन फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको अवार्डको ई-मेल ठेगाना fdbnationalaward2080@gmail.com मा पठाउन सकिनेछ ।

– चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनु पर्नेछ ।आवेदनसाथ चलचित्र जाँच प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

– अन्य सर्तहरु आवेदन फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *