दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

डिसी नेपाल
२० कार्तिक २०८३ २२:२४

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन्।

मन्त्री तिमिल्सिना आगामी नोभेम्बर ७ देखि १३ सम्म दोहामा आयोजना हुने अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्। भ्रमण टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत रहनेछन्।

संयुक्त राष्ट्रसङ्घको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत निकाय अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षाको अन्तरराष्ट्रिय समन्वय र डिजिटल पहुँच विस्तारमा काम गर्दै आएको छ।

प्रत्येक चार वर्षमा आयोजना हुने महासम्मेलन सङ्घको सर्वोच्च नीति निर्धारण गर्ने निकाय हो। सम्मेलनले संस्थाको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व चयन गर्नेछ।

सम्मेलनका क्रममा सङ्घको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि हुने निर्वाचनमा नेपालले सहभागिता जनाउने र मतदान गर्ने कार्यक्रम रहेको छ। यसबाट अन्तरराष्ट्रिय दूरसञ्चार क्षेत्रका नीति निर्माण तथा निर्णय प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा दूरसञ्चार क्षेत्रको विकास, सेवाको गुणस्तर सुधार, डिजिटल पहुँच विस्तार तथा आधुनिक सञ्चार प्रविधिको उपयोगलगायत विषयमा अनुभव आदानप्रदान र सहकार्यका सम्भावनाबारे छलफल हुनेछ।

अन्तरराष्ट्रिय दूरसञ्चार नीति निर्माणमा नेपालको सक्रिय सहभागिता बढाउनुका साथै डिजिटल रूपान्तरण र दूरसञ्चार क्षेत्रको आधुनिकीकरणका लागि अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *