लागुऔषध कारोबारमा सशस्त्रका दुई सुरक्षाकर्मीसहित चार जना पक्राउ
काठमाडौं। प्रहरीले सुर्खेतबाट सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी सहित चार जनालाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिकाबाट आरोपीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय नवराज चालिसे र कार्यालय सहयोगी २३ वर्षीय रुपेश घर्ती मगर छन्।
वीरेन्द्रनगर नगरपालिका घर भएका दुवै जना हाल सशस्त्र प्रहरीको नम्बर–६ महेश्वरी बाहिनीमा कार्यरत थिए। सहायक हवलदारको साथबाट परिचय पत्र र कार्यालय सहयोगी घर्तिमगरको साथबाट सशस्त्रको नियुक्तिपत्र बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अरू दुई जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ घर भएका २७ वर्षीय कुमार बहादुर रास्कोटी र वीरेन्द्रनगर–१२ घर भएका ३१ वर्षीय बलराम पौडेल छन्। आरोपीहरूको साथबाट १३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता (एसपी) दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए।
प्रहरीले शुक्रबार कुमार बहादुर रास्कोटीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले सशस्त्रका कार्यालय सहयोगी रुपेश घर्तिमगर सँग खरिद गर्ने गरेको बयान दिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यसपछि अर्का सेवनकर्ता बलराम पौडेललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले सहायक हवल्दार नवराज चालिसेबाट खैरो हेरोइन खरिद गरेको बयान दिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए। सशस्त्रका सुरक्षकर्मीले सँगै नेपालगञ्ज गएर सो खैरो हेरोइन खरिद गरेर सुर्खेत लगेको प्रहरीको अनुसन्धानले देखाएको छ। आरोपीहरूमाथि थप अनुसन्धान गर्न ब्यूरोले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment