काठमाडौं २४ घण्टा खुलाउने तयारी
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको जनाएको छ।
ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए।
उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिपरेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए। ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक रूपमा बैठक बस्ने प्रस्तावसमेत उनले राखे।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायतका समस्या समाधान गर्न सम्बन्धित निकायहरूसँग सहकार्य भइरहेको बताए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन स्थानीय र व्यवसायी तयार भए ट्राफिक प्रहरीले पूर्ण सहयोग गर्ने बताए। जथाभावी पार्किङ गर्नेहरूलाई कडाइका साथ कारबाही गरिने उनको भनाइ थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सक्रिय सहयोग आवश्यक रहेको बताए।
परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले विसं २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा घरधनी तथा व्यवसायीहरूले राति आवतजावतमा हुने कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर, अव्यवस्थित पार्किङ र ढलका कारण सातघुम्तीमा पानी जम्ने समस्याबारे ध्यानाकर्षण गराएका थिए।
परिषद्का अध्यक्ष राजुमान डंगाेलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। विसं २०४८ मा स्थापना भएको परिषद्ले ठमेलको पर्यटन प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको महासचिव पशुपति कँडेलले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment